इटहरी/ ब्रम्हबैर्वत पुराणको हिम्मवत् खण्डमा उल्लेखित गंगा नदि(बुढिगंगा)को तटमा अवस्थित बुढिगंगा मुक्तिघाटमा श्रावण महिनामा शुरु भएको शिवगंगा महाआरती हरेक सोमबार जारी छ। इटहरीमा यो बर्षको श्रावणदेखि शुरु भएको महाआरतीलाई निरन्तरता दिईएको हो।

शिव सेना नेपाल सुनसरी जिल्ला कार्य समितिको बिशेष पहलमा बुढिगंगा मुक्तिघाटमा जारी महाआरती श्रावण महिना भर प्रत्येक सोमबार र भाद्र महिनादेखि महिनाको अन्तिम सोमबार गर्ने भनिएपनि भक्तजनहरुको उल्लेख्य सहभागिताका कारण हरेक सोमबार निरन्तरता दिइएको आयोजक महाशिव गंगा आरती आयोजक समितिले जानकारी दिएको छ। profile

ब्रम्हबैर्वत पुराणमा समेत उल्लेख भएको बुढिगंगा मोरङ्गको साबिक याङ्गशिला गाबिस हाल केराबारी गाउँपालिकाको वडा नम्बर ४ मा शुरु भएर सुनसरी, मोरङ्ग जिल्ला हुँदै भारतमा पुगेर गंगा नदिको नाममा चिनिन्छ।

महाशिव गंगा आरती आयोजक समितिले पितृहरुको आशिर्वाद सदैव रहिरहोस भन्ने कामनासहित पवित्र गंगा मुक्तिधाममा सन्ध्याकालिन महाआरती गरिएको जनाएको छ। समितिले नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउन सरकारलाई दबाब स्वरुप पनि कार्यक्रम गरिएको जनाएको छ।

इटहरीको बुढिगंगा मुक्तीघाटको बेग्लै पहिचान र इतिहास भएपनि यसको प्रचार हुन नसक्दा पछि परेको भन्दै आयोजकले कार्यक्रममार्फत यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने जनाएको छ।