इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी निरिक्षक भिम खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले खड्कालाई भाद्र महिनाको सुनसरी जिल्लाभरमा सर्वोत्कृष्ठ प्रहरी घोषित गरेको हो।

प्रहरी बिभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन भई प्रतिवन्धीत लागुऔषध नियन्त्रण गरे वापत भाद्र महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरिएको हो।

यस्तै प्रहरी निरीक्षक खड्काले इटहरी ४का ३०बर्षीय हरि बिष्टलाई कट्टी प्रहार गरी शक्त घाईते बनाउने इटहरी ५का ३३बर्षीय सरोज चौहानलाई तत्काल पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले बताउनुभएको छ।

यसैगरी प्रहरी निरिक्षक खड्काले चोरी तस्करी, अपराधमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी अपराध नियन्त्रणका लागि अहोरात्र खटी महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै उच्च मनोवल र साहसका साथ अपराधिक गतिबिधीमा संलग्न अभियुक्त तथा मानिसहरु पक्राउ गरी कानुनी दायरामा ल्याई आम नागरिक समक्ष सुरक्षाको प्रत्याभती दिलाउदै प्रहरी संगठनको छबी उच्च बनाउन प्रशंसनीय कार्य गरेको जनाईएको छ।

उल्लेखित कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै प्रहरी निरीक्षक खड्कालाई २०७९ साल भाद्र “महिनाको उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक ढकालले बताउनुभयो।