सुनसरी/ एमाले नेतृ भगवती चौधरीले खानकै लागि, कमाउनकै लागि राजनीति गरेर भ्रष्टाचार नगर्ने बताउनुभएको छ। सुनसरीको इटहरीमा प्राइम टेलिभिजनले गरेको चुनाबी वहस कार्यक्रममा नेतृ चौधरीले त्यसो भन्नुभएको हो।

नेकपा एमाले कि केन्द्रीय सदस्य समेत रहनुभएकी चौधरीले आफु हरेक बिषयमा सक्षम र आत्मनिर्भर रहेकाले भ्रष्टाचार गर्नै नपर्ने बताउनुभयो। सुनसरीको क्षेत्र नम्बर ३को बिकास र समृद्धिको लागि राजनीतिमा होमिएको भन्दै नेतृ चौधरीले सुनसरीका सबै प्रकारका समस्याहरु हल गरी बिकासको लहर ल्याउन आफु सकृय हुने उद्घोष गर्नुभयो। final

कार्यक्रममा उहाँले भन्नुभयो ‘मलाई भ्रष्टाचार गर्नुछैन, म आफैं सक्षम छु । पढेलेखेकी छु। राजनीति गरेर कमाउँछु भन्ने सोच मसँग छैन। नेतृ चौधरीले ३० वर्षदेखि शासन सत्तामा रहेकाले कुनैपनि बिकासका कामहरु नगरेको भन्दै दुहवी, गढी, बर्जु तथा इटहरीका क्षेत्रहरुको बिकासमा ठोस योजनाहरु बनाएको बताउनुभयो। उहाँले भन्नुभयो म भिजन बोकेको महिला हुँ, महिला सशक्तिकरण, आर्थिक पहुँच, युवा स्वरोजगार, निर्यातमुखी कृषि प्रणाली र सुनसरीका पर्यटकीय गन्तव्य क्षेत्रहरुको बिकास गरी शिक्षित र समुन्नत क्षेत्रका रुपमा विकास गर्न सक्छु।’

आफुले २० वर्षदेखि सामाजिक कामहरु गरेकोले आफ्नो क्षेत्रमा कुन स्थानमा के समस्या छ त्यो पनि अध्ययन गरेको उहाँले बताउनुभयो। ०४८ सालदेखि निरन्तर चुनाब जितेर गएपनि प्रतिपक्षी उम्मेदवारले जनताका लागि केही नगरेकोले अव परिवर्तनकै लागि पनि जनताले आफुलाई जिताउने चौधरीले दावी गर्नुभयो।

चौधरीले आफु राज्यमा नभएपनि आफ्नो क्षेत्रको बिकासका लागि धेरै काम गरेको दावी गर्दै भन्नुभयो ‘म राज्यमा नभएपनि मेरो पार्टीको सरकार हुँदा होस् वा नहुँदा केन्द्र, संघीय सरकारसँग लविङ गरेर बिभिन्न बिकासका लागि बजेटहरु ल्याएकी छु। कोरोना संक्रमणमा स्थानीय तहहरुसँग सहकार्य गरेर डेढ करोड बढीको राहत वितरण गरेको, व्यक्तिगत रुपमा फिल्डमै गएको समेत उहाँले बताउनुभयो।

चौधरीले इटहरीमा रहेको बसपार्क व्यवस्थापन गर्न अघिल्लो निर्वाचनमै आफुले अध्ययन गरेको र व्यवस्थित बसपार्क बनाउन डिजिटलाइजेसन गर्ने, अन्तराष्ट्रिय स्तरको बनाउन लागि पर्ने बताउनुभयो। उहाँले दुहवीको मुख्य सडक बिस्तार र निर्माणमा पनि आफुले सक्दो लविङ गरेको भन्दै बिकास र जनताका सवालमा आफु सदैव लागि पर्ने प्रतिबद्धता जनाउनुभयो।

आएनन् गच्छदार
कार्यक्रममा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विजयकुमार गच्छदार आउनुभएन। ललिता निवास जग्गा प्रकरणमा मुछिनुभएका गच्छदार जनताको जवाफ दिनुपर्छ भनेर कार्यक्रममै सहभागी नहुनुभएको हो।

कार्यक्रम सञ्चालक ऋषि धमलाले गच्छदार केही बेरमै आइपुग्ने उद्घोष गरेपनि गच्छदार नआउनुभएको हो। पछि सहभागीहरुले गच्छदारलाई किन नबोलाएको भन्दै प्रश्न गर्दा धमलाले बारम्बार बोलाएपनि नआएको भन्ने जवाफ दिनुभएको थियो।

गच्छदार ललिता निवास सरकारी जग्गा प्रकरणमा निलम्बित सांसद हुनुहुन्छ। गच्छदारसहित १७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा बिशेष अदालतमा मुद्दा दायर गरेको छ। सो प्रकरणमा डेढ वर्षदेखि फरार गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलीपल्टै बिशेष अदालतमा हाजिर भएर १० लाख धरौटीमा रिहा हुनुभएको थियो।