इटहरी/ इटहरी चोकमा तेश्रो लिङ्गीहरुको यौन धन्दा रोक्न रातभर इटहरीका मेयर हेमकर्ण पौडेलसहित दर्जनौ सर्वसाधारण सडकमा उत्रिएका छन्। सामाजिक बिकृती रोक्न भन्दै मेयर पौडेलसहित दर्जनौ सर्वसाधारण सड्कमा निस्किएका हुन्।

रातको समयमा तेश्रो लिङ्गीहरुले इटहरीको पश्चिम लाइनमा अश्लिलता देखाएको भन्दै इटहरीका मेयर पौडेल प्रहरी प्रशासन लिएर आँफै सडकमा निस्किएका हुन्। पछिल्लो समय पोखरा, काठमाडौंलगायतका शहरहरुबाट तेश्रो लिङ्गीहरु इटहरी आउने र यौनधन्दा गरेर अपराध बढेकाले सभ्य समाज निर्माण गराउन लागि पर्ने मेयर पौडेलको भनाइ छ।

तेश्रोलिङ्गीहरुले रातको समयमा अश्लीलता प्रकट गरेर सताएका थुप्रै मौखिक गुनासा आइरहेका बेला केहिलाई पक्राउ गरेर एकरात राखेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक(डिएसपी) खगेन्द्र खड्काले उनीहरुलाई इटहरी छोड्न चेतावनी दिएको बताएका छन् । रातको समयमा अबैध धन्दासँगै चोरी र लुटपाटको घट्ना समेत बढेको प्रहरीको निष्कर्ष छ।

इटहरी ९ का वडाध्यक्ष जितेन थापाले शहरमा बिकृती फैल्याएको भन्दै तेस्रो लिङ्गीहरुलाई अनैतिक काम नगर्न चेतावनी दिएको वताए। अन्य शहरबाट इटहरी आएर अवैध काम गर्ने गरेको भन्दै वडाध्यक्ष थापाले इटहरीलाई सभ्य शहर बनाउनका लागि अभियानलाई निरन्तरता दिने बताएका छन्।

नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीले इटहरीमा बाहिरबाट तेस्रो लिङ्गीहरु आएर धन्दा मच्चाएको भन्दै यो अभियानले भगाउन पर्ने बताए। फ्लाइट भाडामा लिएर उनीहरु अंग प्रर्दशन गरेर रातको समयमा इटहरीको बदनाम गरिरहेको केसीको भनाइ छ।

मेयर हेमकर्ण पौडेलको स्वकीय सचिव बिक्रम घिमिरेले भने मुख्य चोकमै हुने नकारात्मक गतिबिधि बारे नगर प्रमुखले कडा कदम चाल्ने बताएका छन्। सडक आसपासमा बस्दै आएकाहरुलाई उद्दार गर्ने अभियान निरन्तर चल्ने घिमिरेको भनाई छ।