सुनसरी/ नेकपा एमालेकी उम्मेदवार भगबती चौधरी आजदेखी औपचारिक रुपमा चुनाबी घरदैलो अभियानमा निस्कनु भएको छ। सुनसरी क्षेत्र नम्बर ३बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यासी नेतृ चौधरीले इटहरी १० र वडा नं. ११बाट जनताको अपेक्षा, गुनासाहरु सुन्दै आफ्ना चुनाबी एजेण्डाहरु बाँड्न थाल्नुभएको हो।

नेकपा एमालेबाट प्रदेश सभातर्फ सुनसरी ३ (१) का उम्मेदवार रोहित बहादुर कार्कीसहित पार्टीका नेताहरुको साथमा घरदैलो थाल्नुभएकी चौधरीले जनताका मुख्य समस्याहरुलाई नोट गर्ने, गुनासाहरु सुन्ने पनि गर्नुभएको छ।

सो क्रममा स्थानीय मतदाता तथा जनताहरुले विगतमा पटकपटक जितेर गएकाले विकास नगरेको, जनताका अपेक्षा, विगतका निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा नगरेको तथा भ्रष्टाचारमा समेत लिप्त भएकाले योपटक नेतृत्व परिवर्तनको पक्षमा उत्रिएको बताए । जनमतबाट निर्वाचित भएकाहरुमा दुरदर्शिता नहुँदा आफु र आफ्ना सन्ततीले दुखः पाएको स्मरण गर्दै उनीहरुले आर्थिक संबृद्धिका योजना र भिजन भएका उम्मेदवारलाई जिताएर पठाउने बताए।

भगबती चौधरीले सत्तामा नरहेर पनि आफ्नो क्षेत्रका जनताको जिवनस्तर उकास्ने गरी काम गरेको, जनताहरु दुखःमा पर्दा साथ दिएको र सुनसरी ३ लाई विकासकै राजधानी बनाउने गरी काम गरेकाले योपटक कुनैपनि हालतमा जित्नुपर्ने बताए । विगतका दुई वटा निर्वाचनमा जनताले जनमत दिएपनि सत्ताको दुरुपयोग गर्दै चौधरीलाई पराजित गराईको बताउँदै मतदाताले योपटक पनि त्यहि नियती त दोहोरिँदैन भन्दै प्रश्न पनि गरे।

‘२/ २ पटक तपाईलाई जिताएकै हो । अझैपनि भोट हाल्छौं, विजयी भवः भन्छौं तर, त्यसलाई कसरी संरक्षण गर्नेमा तपाईको ध्यान जानुपर्छ ।’ स्थानीय जनताले जनमतको सुरक्षाको कुरा उठाउँदा चौधरीले योपटक कुनै प्रकारको धाँधली र सड्यन्त्र नहुने विस्वास दिलाइन् । ‘योपटक कुनैपनि शक्तिले धाँधली गरेर, बाकस साटेर या अन्य सड्यन्त्र गरेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ । भगबती चौधरी र सिंगो नेकपा एमाले र जनता जनताको अभिमत सुरक्षार्थ खटिन्छ ।’ साथै जनतालाई कुनैपनि लोभ, लालच, डर, धम्कीमा नपरी निष्पक्ष रुपमा ढुक्क भएर परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । kantipur

चौधरीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि क्षेत्रको विकास गरेर युवाहरुलाई गाउँघरमै स्वरोजगार बनाउन सके मात्र आर्थिक उन्नती हुने बताउँदै त्यसका लागि आफुले ३० वर्षमा हुन नसकेको काम ५ वर्षमै गर्ने गरी रोडम्याप बनाएको बताउनु भयो । योपटक जनताले निर्वाचित गरेको खण्डमा आफ्नो क्षेत्रमा विकासको लहर ल्याउने साथै संघ सरकारमा रहेर महिला, बालबालिका, जेष्ठ नागरिक, युवा, कृषक, उद्योग, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने र नीति निर्माण गर्ने पनि जिकीर गर्नुभयो।

घरदैलो कार्यक्रममा जाँदा नेतृ चौधरीलाई महिला, जेष्ठ नागरिक तथा युवा पंङ्तीले यो पल्ट जिताएरै संसदमा पठाउने बताएका थिए । साथै, उनीहरुले प्रदेशका उम्मेदवारलाई पनि जिताउँदै संघ र प्रदेशमा एमालेको सरकार बनाउँदै विकास गर्न सुझाए । आफुहरुलाई बोल्ने भन्दा पनि काम गर्ने नेता चाहिएको भन्दै भगबती चौधरीसँग राजनीतिक, आर्थिक र सामाजिक अनुभव भएकाले एकपटक मौका दिनै पर्ने पनि बताए।