कृषि तथा पशुपंछि राज्यमन्त्री रामकुमारी चौधरीले इटहरीमा जग्गा निरिक्षण गर्नुभएको छ। राज्यमन्त्री चौधरीले प्रदेश १ कै सबैभन्दा ठूलो सुविधा सम्पन्न कृषि बजार स्थल निर्माणका लागि इटहरीमा जग्गा निरिक्षण गर्नुभएको हो।

इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले राज्यमन्त्री चौधरीलाई इटहरी ९,१० र ११ नम्वरमा रहेका सार्वजनिक जग्गा अवलोकन गराउनुभएको हो। प्रत्येक प्रदेशमा अत्याधुनिक सुविधासम्पन्न कृषि थोक बजार स्थल निर्माण गर्ने अभियानका क्रममा प्रदेश १ का लागि इटहरीमा अध्ययन शुरु गरिएको राज्यमन्त्री चौधरीले बताउनुभयो।

उहाँले प्रदेश स्तरीय कृषि थोक बजार स्थल निर्माणका लागि कम्तिमा सात बिगाह जग्गा आवश्यक पर्ने भन्दै मन्त्रालयबाट यहि हप्ता प्राविधिक र बिज्ञको टोली पठाएर सम्भाब्यता अध्ययन गरि बिस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताउनुभयो।

कृषि थोक बजार स्थलमा बिभिन्न किसिमका फलफूल र तरकारीका लागि अलग अलग कोल्डस्टोर निर्माण गरिने छ। कृषि जन्य पदार्थहरुका परिक्षणका लागि प्रयोगशाला स्थापना गरेर बिज्ञ राखिने छ। कृषिजन्य उत्पादनको उत्पादन र बिक्रिको अध्ययन अनुसन्धान गर्न अनुसन्धानशाला पनि बनाइने राज्यमन्त्री चौधरीले जानकारी दिनुभयो।

बडा नम्वर ९ को गुद्रि बजारलाई ४० लाख
कृषि तथा पशुपंछि मन्त्रालयबाट इटहरी ९ स्थित हटियाको स्तरोन्नतीका लागि ४० लाख रुपैँया बिनियोजन भएको छ। इटहरीका मेयर द्धारिकलाल चौधरीले त्यहाँको कृषि बजारको स्तरउन्नतीको डिपीआर तयार भइसकेको बताउनुभयो। उहाँले चाडै काम शुरु गरिने भन्दै कृषि क्षेत्रको बिकासका लागि बजेट छुट्याई पूर्वकै आधुनिक थोक कृषि बजार इटहरीमा निर्माणको पहलका लागि उहाँले राज्यमन्त्री चौधरीलाई धन्यबाद दिनुभयो।