ओखलढुंगा । पहाडी जिल्ला ओखलढुंगामा गत वर्षको तुलनामा धान र कोदोको उत्पादन बढेको छ । ओखलढुंगामा अघिल्लो वर्षको तुलनामा ४४० मेट्रिक टन बढी धान उत्पादन भएको हो ।

यो वर्ष १३ हजार २५३ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र, ओखलढुङ्गाको तथ्यांकअनुसार गत वर्ष ओलखढुंगामा १२ हजार ८१३ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका कृषि विज्ञ गणेश अधिकारीले जानकारी दिए ।समयमै वर्षा भएका कारण रोपाइँ पनि समयमै भएको र रोग कीराको प्रकोप यस वर्ष कम भएकाले धान उत्पादनमा वृद्धि भएको कृषि अर्थ विज्ञ अधिकारीले जानकारी दिए ।

गत वर्ष धान भित्र्याउने समयमा बेमौसमी असिना पानी परेर बालीमा क्षति पुगेको थियो । जिल्लामा चार हजार ४०३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । जिल्लाको रामपुरटार, सिल्खुबेँसी, कुइभिरटार, बलखुवेँसीलगायत सुनकोशी, दूधकोशी, लिखु नदी र मोलुङ खोला आसपासको क्षेत्रमा मुख्य गरी धान खेती गरिन्छ ।

यसका साथै ओखलढुंगामा यस वर्ष १९ हजार ३७७ मेट्रिक टन कोदो उत्पादन भएको छ । गत वर्ष भन्दा यस वर्ष कोदोको पनि उत्पादन बढेको अधिकारीले बताए । जिल्लामा सात हजार ७५१ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले जनाएको छ ।