एजेन्सी । पूर्व विश्व विजेता स्पेनलाई पराजित गर्दै मोरक्को कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै मोरक्को क्वाटर फाइनलमा प्रवेश गरेको हो ।निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि  ३० मिनेट अतिरिक्त समय थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । 

राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३– ० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो ।  पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे । बदर बेनोनले गोल गर्न सकेनन् । पेनाल्टीमा स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्सले  गोल गर्न सकेनन् ।अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।