सिरहाको लहान नगरपालिका २३(तत्कालिन सिरहा गाबिस वडा नम्बर ८कडरिया) की राजकुमारी चौधरी सम्पतिको नाममा घडेरी र ८ कठ्ठा खेत थियो। ६ जना छोरी १ जना छोरा गरि ७ जना सन्तान र दम्पति अनि सासु ससुरा गरेर ११को परिवार थियो।

सामान्य (ह्याण्ड पम्प) कलको मिस्त्री भएका श्रीमानको कमाईले बचत त परै जाओस छाक टार्न पनि धौ धौ हुन्थ्यो। यहि चिन्ताले राजकुमारीलाई सताही रहेको थियो। उहाँलाई छोरा छोरी पढाउने चिन्ता , सासु ससुराको उपचारको चिन्ता बढ्दै जाँदा बैकल्पिक आम्दानीको श्रोतको कसरी जुटाउने भन्ने सोचमा लाग्नुभयो। सोहि अनुरुप २/४ वटा बाख्रा पाल्दै केहि क्षेत्रफल जग्गामा तरकारी खेति शुरु गर्नुभयो।

उहाँले शुरुमा करिव २ कठ्ठामा काउली, खोर्सानी, रायो साग लगाउनुभयो। यसरी लगाएको तरकारी खेतिबाट आम्दानी प्राप्त भएपछि अनि बाख्रा पालनबाट पनि आम्दानी आउन थालेपछि उहाँको परिवारको जीवनशैलीमा परिवर्तन आउन थाल्यो। सासु ससुराले पनि उहाँलाई तरकारी खेतिमा सहयोग गर्न थाल्नुभयो। राजकुमारीले परिवारको पनि सहयोग पाएपछी तरकारी खेतिलाई २ कठ्ठाबाट ४कठ्ठामा लगाउन थाल्नुभयो। ४कठ्ठामा काउली, भान्टा(बैगुन) धनिया, टमाटर, लगाउन थाल्नुभयो।

सोना मन्सुली धान काटेर कात्तिक मंसिरमा तरकारी लगाउँदा तरकारीले उति राम्रो बजार पाउँदैनथ्यो। २ कठ्ठाबाट ४ कठ्ठामा तरकारी खेती लगाउन थाल्नुभएकी राजकुमारीको आम्दानी बढेको त थियो नै तरकारी खेतिको आम्दानीबाट ३जना छोरीको बिवाह पनि गराईदिनुभएको थियो। यसरी तरकारीले राजकुमारीको जीबनशैलीमा परिवर्तन आएपछि राजकुमारी दंग नहुने कुरै भएन।

२०१५मा बिश्व खाद्य तथा कृषि संगठनद्वारा सञ्चालित जलवायु परिवर्तन अनुकुलन कृषि आयोजनाले जलवायु परिवर्तनले कृषि र पशुपालन क्षेत्रमा परेको नकारात्मक असरमा कृषि र पशु मा अनुकुलन गर्ने उदेश्यले सञ्चालन गरिएको कृष्ण जलवायु कृषक पाठशालामा राजकुमारी नियमित सहभागी हुन थाल्नुभयो।

बर्षतको समयमा धानको कृषक पाठशालामा उहाँले सुख्खा सहने र चाँडो पाक्ने उत्पादन पनि राम्रो हुने जलवायु अनिकुलित धान खेतिको बारेमा पाठशालाबाट धेरै कुरा सिक्नुभयो। अनि आफ्नो खेतमा पनि लगाउने सोच बनाउनुभयो।

गतबर्ष २०१७ मा आयोजनाबाट प्राप्त समर सिजनको तरकारीको बिउबाट राम्रो आम्दानी गर्नुभएकी राजकुमारी एकजना छोरीलाई डि फर्मा पढ्न भारतको राजस्थान पठाउनुभएको छ। यो बर्ष आफ्नो तरकारी खेतीलाई अझै व्यापक गर्ने उद्देश्यले आफ्नो ८ कठ्ठामा नै सुख्खा सहने र चाँडै पाक्ने धान सुख्खा ३ लगाएर कार्तिक पहिलो सातादेखि नै तरकारी खेतिबाट आम्दानी गर्न थाल्नुभएको छ।

काउली, भाण्टा, बन्दा, धनिया, खोर्सानी, रायो साग, लगाउनुभएकी राजकुमारीले हरियो धनियाबाटै करिव साठी हजार रुपैया र काउलीबाट बिस हजार रुपैया आम्दानी गरिसक्नुभएको छ। हिजो आज त राजकुमारी दिनभर नै तरकारी खेतिमा ब्यस्त देखिन थाल्नुभएको छ।