झापा । झापा गाउँपालिकामा रहेको डिल्लीराज माविमा अध्ययनरत् सलमा खातुन विद्यालयमै नयाँ साइकल पाएपछि निक्कै खुशी देखिइन् । मंगलवार हिँड्दै विद्यालय आएकी खातुनलाई विद्यालयमै साइकल प्रदान गरेसँगै उनी खुशीसहित साइकल लिएर घर फर्किइन् । उनी जस्तै जनता माविका कञ्चन राजवंशीले पनि विद्यालयबाट नयाँ साइकल लिएर घर फर्कदै गर्दा खुशी हुँदै भने– यही साइकल चढेर १२ कक्षा पास गर्छु ।

गाउँपालिकाले झापा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका चार सय ६० जना विद्यार्थीलाई मंगलवार एक साथ एक÷एक थान साइकल निःशुल्क उपलब्ध गराएको छ । साइकल पाएर खुशी हुनेमध्ये खातुन र राजवंशी प्रतिनिधि विद्यार्थी मात्रै हुन् । उनीहरु जस्ता चार सय ६० जना विद्यार्थी मंगलवार उत्साहित देखिन्थे ।

गाउँपालिकाले कक्षा ९मा अध्ययनरत् सबै विद्यार्थीलाई साइकल वितरण गरेको हो । झापा गाउँपालिकाभित्र पाँच वटा माध्यमिक विद्यालय रहेको र त्यहाँ अध्ययनरत् विद्यार्थीलाई आवातजावतमा सहजताका लागि गाउँपालिकाले साइकल उपलब्ध गराएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।

उनले भने– ०७४को निर्वाचनपछि वडागत रुपमा वडावासीको समस्या बुझ्दै जाँदा साइकल नभएकै कारण बिद्यालय जानबाट बञ्चित विद्यार्थीको कुरा सुनेसँगै ०७५ सालबाटै हामीले साइकल वितरण शुरु गरेका थियौं । तर, शुरुका बर्ष कक्षा ९मा अध्ययनरत् छात्रालाई मात्र साइकल वितरण गरिए पनि यो बर्षबाट कक्षा नौमा अध्ययनरत् सबै विद्यार्थीलाई साइकल वितरण गर्न शुरु गरेका हौं ।

 गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत् अधिकांश बिद्यार्थी विपन्न समुदायका अध्ययन गर्ने गरेका उनीहरुलाई साइकल किन्ने खर्च जुटाउन समेत समस्या हुने गरेको बताउँदै गाउँपालिका अध्यक्ष साहले भने– हामीले प्रदान गरेको साइकलले यी विद्यार्थीले १२ कक्षासम्म सहजै प्रयोग गर्न सक्छन् । गाउँपालिकाले जनता मावि, डिल्लीराज मावि, जनकल्याण मावि, कुवाडीदेवी मावि र महेन्द्र माविका विद्यार्थीलाई एकैसाथ डिल्लीराज माविमा आयोजित कार्यक्रमकाबीच साइकल वितरण गरेको थियो । एक सय ९५ छात्रा र दुई सय ६५ जना छात्रलाई साइकल वितरण गर्दै गाउँपालिकाकी उपाध्यक्ष अञ्जुदेवी थपलियाले भनिन्– अब यहाँका बालबालिकालाई विद्यालय आउन जान सहज भएको छ ।

 सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सुधारका कार्यक्रम हाम्रो अब प्राथमिकतामा पर्छ । उपाध्यक्ष थपलियाले गाउँपालिकाले यो आर्थिक बर्षबाट कक्षा नौमा पढ्ने सबै विद्यार्थीलाई साइकल वितरण गरेको र कक्षा १२ सम्म नै निःशुल्क अध्ययनको व्यवस्था मलाएको बताइन् । गाँउपलिकाका शिक्षा शाखा प्रमुख जीवन ढकालले शैक्षिक पहुँचमा अभिबृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले साइकल वितरण गरेको र भर्ना रलाई टिकाइ राख्न र विद्यालय र घरको पहुँचलाईटाढा नबनाउन विद्यार्थीलाई साइकल वितरण गरेको बताएका छन् । उनले यो कार्यले विद्यार्थीको शैक्षिक गुणस्तर समेत अभिबृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले शैक्षिक गुणस्तर सुधारका लागि झापा गाउँपालिकाले उत्कृष्ट काम गर्दै आएको र यसको नतिजा बिद्यार्थीले केही बर्षमै देखाउने बताए । गुप्ताले भने– गाउँपालिकाले कक्षा नौका विद्यार्थीलाई साइकल वितरण गर्नु सामान्य देखिए पनि यसले दीर्घकालीन फाइदा पुग्नेछ । प्रधानाध्यापक गुप्ताले गाउँपालिकाले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि भवन निर्माणदेखि प्रविधिमैत्री शिक्षा, विद्यार्थी प्रोत्साहन जस्ता कार्यक्रम सञ्चालन गर्नुले पनि सामुदायिक विद्यालयमा विद्यार्थीको रुची बढ्दै गएको बताए ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, नेपाल शिक्षक महासंघका गाउँपालिकाका अध्यक्ष जगन्नाथ राजवंशी, वडा नं ७का वडाध्यक्ष सफीचन्द्र ठाकुर, जनता माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हिमबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेको गाउँपालिका आइटी शाखा प्रमुख गौरव संग्रौलाले जानकारी दिए । गाउँपालिकाले झण्डै ३० लाख मूल्य बराबरको साइकल वितरण गरेको थियो ।

प्राविधिक शिक्षा अध्ययन गर्न १२०००

झापा गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न हरेक बर्ष १२ हजार रुपैयाँ सहयोग शुरु गरेको छ । 

उच्च शिक्षा अध्ययनको क्रममा कुनै पनि विद्यार्थीले प्राविधिक विषय लिएर अध्ययन गर्न चाहे प्रोत्साहन स्वरुप गाउँपालिकाले १२ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष साहले बताए । उनले भने– पढाइप्रति विद्यार्थीलाई प्रेरित गर्न हामीले प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीलाई प्रोत्साहन रकम दिन शुरु गरेका हौं । यो कार्यले निरन्तरता पाउँछ । कुनै पनि बिद्यार्थी डाक्टर, इञ्जिनियर, नर्स या ल्याब टेक्निसियन जुनसुकै विषय अध्ययन गरे पनि हामी हरेक बर्ष उनीहरुलाई १२ हजार रुपैयाँ प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउँछौं ।