काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ । रिट निवेदकको तर्फबाट सुरेन्द्र भण्डारी, रवि बसौला, युवराज पौडेल, रमण कर्ण, नीतिका ढुंगानाले बहस गरेका हुन् ।

सो क्रममा निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने आजका मितिसम्म नेपाली नागरिक नभएको जिकिर गरेका छन् । कानुन व्यवसायी कर्णले नेपाल नागरिकता ऐन बमोजिम लामिछानेको नागरिकता कायम नरहेको दावी गरे ।

अमेरिकी नागरिकता तथा राहदानी त्यागेर नेपाली नागरिकता लिनका लागि कतै पनि निस्सा पेस नगरेको कर्णको भनाइ छ । रविका पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित चार जना कानुन व्यवसायीले बहस गर्नेछन् ।

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ । सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न लागेको हो ।