खोटाङ । झापाको काँकरभिट्टाबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्र. १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा दुर्घटना भएको छ । मध्यपहाडी लोकमार्गको नुनथलास्थित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय नजिकै भएको बस दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।

दुर्घटनामा बस चालक झापाको मेची नगरपालिका–७ का ३६ वर्षीय स्ट्रङ राई, मोरङको पथरी नगरपालिका–५ का २९ वर्षीय अमृत पाण्डे, मोरङकै बेलबारी नगरपालिका–१ का २५ वर्षीय किशोर लिम्बु, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० का ४० वर्षीय नरबहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका २५ वर्षीय कुवीर दाहाल, सोही नगरपालिकाको वडा नं.–१ दिक्तेलका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिरनराज खतिवडा घाइते भएका छन् । उनीहरुको अहिले जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाका घाइते सबैजनाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुको टाउको, हात तथा खुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनालगत्तै चालक पेमा तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला पठाइएको प्रहरी चौकी नुनथलाका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन् । 

‘रात्रि बस भएकाले दुई जना चालक रहेछन्,’ उनले भनिन्, ‘काँकरभिट्टादेखि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित विजुलेसम्म आएपछि पेमाले चलाएको केही समयपछि दुर्घटना भएको पाइएको छ ।’ मापद पदार्थ सेवन गरेका चालकले बस चलाएका कारण दुर्घटना भएको बसमा सवार यात्रुहरुले आरोप लगाएका छन् । पेमाले बस चलाउन थालेपछि तीव्रगतिमा आएको बस भित्तामा ठोक्किएपछि सडकमुनि पल्टिएको बसमा सवार यात्रुहरुले बताएका छन् ।