इटहरी । सुनसरीको विभिन्न क्षेत्रमा रहेका आधा दर्जन बढी सिचाइ आयोजनाहरूको कार्यालय तथा नहरहरूको अनुगमन गरिएको छ । प्रदेश एक खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री तिलक कुमार मेन्याङबाे सहितको टोलीले सुनसरीको बर्जू , देवानगञ्ज , खनार लगायतका सिचाइ आयोजनाबारे  अनुगमन सहित  जानकारी लिएका थिए । 

अनुगमनमा  हाल चलायमान अवस्थामा रहेका आयोजनाहरूको वर्तमान अवस्था , देखिएका समस्या तथा चुनौती , कार्ययाेजनाबारे चर्चा गरिएको थियो । मन्त्री मेन्याङबाे सँग  सिचाइ आयोजनाका कार्यालय प्रमुखहरूले नहरको डिलमा अब्यवस्थित बसाेबास कायम रहेकाले काम गर्न चुनाैति रहेकाे र संघिय सरकारबाट बिनियाेजित बजेट अपुग भएकाे , आयाेजना सम्बन्धी प्राविधिक सामग्री अपुग रहेकाे जस्ता समस्याहरू सुनाएका थिए । 

कार्यालय प्रमुखहरूको गुनासो सम्बोधन गर्दै मन्त्री मेन्याङबाेले सुनसरी कृषिको पकेट क्षेत्र भएकाे कारण आयोजनालाई सुदृढ र क्रियाशील बनाउन प्रदेश सरकार कटिबद्ध भएर लागिपर्ने बताए । उनले कृषकहरूको समस्यालाई मध्यनजर गर्दै नहर र आयोजनाहरूलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए ।