धरान/ सुनसरीको धरानमा सामुदायिक वन उपभोक्ता समूहका लागि एकदिने रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ। सब डिभिजन वन कार्यालय बिष्णुपादुका धरानको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

सामुदायिक वन उपभोक्ता समूहका लागि सञ्चालन गरिएको एकदिने रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन तालिममा सब डिभिजन वन कार्यालय, बिष्णुपादुका, धरान अन्तगतका १६वटा सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति, सल्लाहकार समितिलगायतका पदाधिकारी गरेर ५० जनाको सहभागिता थियो। ban

तालिमका सहभागीहरुलाई रेकर्ड किपिङ, पत्राचार, फाईलिङ, बैठक सञ्चालन, माईन्युट लेखन, अभिलेख व्यवस्थापनका बिषयमा प्रकाश पारिएको सब डिभिजन प्रमुख विक्रम अमात्यले बताउनुभयो। त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका २०७३ बमोजिम सामुदायिक वनहरूले राख्नुपर्ने विभिन्न प्रकारका खाता, योजना तर्जूमा, बजेट विनियोजन, कार्यसञ्चालन, विकास कामको रेखदेख, जाँचपास लगायतका विषयमा अनुशिक्षण गरिएको प्रमुख अमात्यले बताउनुभयो।

तालिमले आगामी दिनमा उपभोक्ता समूहको रेकर्ड किपिङ, लेखा व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने सहभागीहरूले बताएका थिए। तालिम हरियाली सामुदायिक वन उपभोक्ता समूह धरान १९ को सभाहलमा सम्पन्न भएको थियो।