खाेटाङमा ११ वर्षपछि उद्यानमा राखियो कलाकार बाङ्देलको सालिक

  • पूर्वीखबर
  • प्रकाशित मिति: माघ १७, २०७९

खोटाङ । वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक ११ वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उनको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा राखिएको हो ।

साहित्यकार बाङ्देलको सालिक वडा कार्यालयबाट रु दुई लाख बजेट विनियोजन गरेर लामो समयसम्म दिक्तेल बजारमा अलपत्र बनेको बाङ्देलको सालिक वडा कार्यालयको सहयोगमा उद्यान निर्माण गरेर उनकै पुख्र्यौली थलोमा सम्मानस्वरुप राखिएको छ ।

सार्वजनिकस्थलमा राख्ने गरी मोरङको बेलबारीका मूर्तिकार श्याम गौतमले बाङ्देलको सालिक बनाएर विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गरेका थिए । कलाकार गौतमले बाङ्देलको सालिकसहित हलेसीमा राख्ने गरी एउटा शिवलिङ्ग र बसाहाको ढुङ्गेमूर्ति निःशुल्क हस्तान्तरण गरेको जनाइएको छ ।

जिविस र जिल्लास्थित राजनीतिक दलका नेताहरूले दिक्तेलको रत्नपार्क आसपासमा बाङ्देलको सालिक राख्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयनमा कसैले चसो नदिँदा कलाकार बाङ्देलको सालिक दिक्तेल बजारमा वर्षौँसम्म सडकपेटीमा प्लाष्टिकले छोपेर बेवारिसे अवस्थामा राखिएको थियो ।

स्थापनामा चासो नदिइँदा दिक्तेलमा बेवारिसे बनेको कलाकार बाङ्देलको सालिक स्थापनाका लागि विसं २०७१ मा अगमसिं राईको संयोजकत्वमा १५ सदस्यीय लैनसिं बाङ्देल प्रतिमा स्थापना समिति गठन गरिएको थियो । नाछिरिङ राई समुदायका साहित्यकार बाङ्देकको सालिकलाई पुख्र्यौली थलो राखाबाङ्देल लैजान सोही ठाउँका नाछिरिङ समुदायले नै अग्रसरता देखाएका थिए ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved