खोटाङ । खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो । वि.सं. २०७८ भदौ १२ गते उक्त विद्यालयका एकमात्र शिक्षकको सरुवा भएपछि विद्यालयको पूरै जिम्मा कार्यालय सहयोगी हिरा थापा मगरको काँधमा आएको हो ।कक्षा एकदेखि तीनसम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा अहिले १४ जना विद्यार्थी अध्ययनरत छन् । तीन वटै कक्षाका विद्यार्थीलाई डेढ वर्षदेखि कार्यालय सहयोगी मगरले अध्यापन गराइरहेका छन् ।

विद्यालयमा अन्य शिक्षक नभएपछि बिरामी हुँदासमेत विद्यालय जानुपर्ने बाध्यता रहेको उनले बताए । ‘विद्यालय बन्द गर्न मिलेन, त्यसैले बिरामी हुँदा पनि जानु पर्ने बाध्यता छ । ओढ्ने ओछ्याउने कपडा लिएर जान्छु विद्यालय र आराम गर्दै विद्यार्थीलाई पढाउने गरेको छु,’ कार्यालय सहयोगी मगरले भने । वि.सं. २०६३ सालमा स्थानीयले देउसी भैलो खेलेर स्थापना गरेको विद्यालयको भवनसमेत जीर्ण रहेको छ ।

विद्यालय भवनको दायाँ–बायाँको पर्खाल भत्किन लागेको छ भने जस्तापातासमेत उक्किएको छ । झ्याल ढोकासमेत नभएको भवनको निदाल र सरा धमिरा लागेर मक्किएको छ । विद्यालयमा विद्यार्थीहरूका लागि डेस्क, बेन्चकोसमेत अभाव हुँदा विद्यार्थीहरूलाई १०–४ को समय बिताउन कठिन भइरहेको मगरले बताए । विद्यालयको भवन जीर्ण भएकाले विद्यार्थीलाई भित्र राख्न डर हुने गरेको छ । त्यसैले बाहिर राखेर पठन–पाठन गराउने गरेको उनको भनाइ छ । २०७२ सालको भूकम्पले जीर्ण बनाएको भवन निर्माणका लागि धेरै पटक सरकारी निकायसँग माग राख्दा अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए ।

साविक राजापानी गाविसको वडा नम्बर १ थुम्कीमा पर्ने उक्त विद्यालयमा चाँडै शिक्षकको व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ । नजिकै रहेको महंकला आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज रेग्मीले उक्त विद्यालयको पनि प्रशासनिक कार्य भने हेर्दै आएका छन् । करारमा शिक्षक राख्न विज्ञापन गर्न नगरपालिकाले अनुरोध गर्दा अभिभावक नमानेपछि स्थायी शिक्षकको अभाव भएकाले विद्यालयमा समस्या देखिएको नगर शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताए । अब आउने स्थायी शिक्षकलाई उक्त विद्यालयमा पठाउने नगर कार्यपालिकाले निर्णयसमेत गरेको कार्कीले बताए ।

विद्यालयको अनुगमन गर्दा धेरै बिजोग देखिएकाले यस वर्ष भित्रमा जसरी पनि नयाँ भवन निर्माण गर्ने नगरपालिकाका उपप्रमुख रमेश कुमार राउतले बताए ।