वीरगंज । जिल्ला अदालत पर्साले वीरगंज २५ श्रीसियाका निरज पासवानको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ। अदालतले अभियुक्त दुबै जनालाई थुनामा राख्न आदेश गरेको हो। अदालतको आदेशसँगै हत्याका आरोपित दिलीप पटेल र उनका सहयोगी कृष्ण यादवलाई कारागार चलान गरिएको छ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा आरोपितलाई थुनामा राख्न आदेश गरेको हो।खाल्वाटोल श्रीसियाका श्रीराम पासवानको १५ वर्षीय छोरा निरजको मंसिर ५ गते अपहरण गरी हत्या गरिएको थियो। मृतकको शव गत पुस १० गते वीरगंज २५ भन्सार श्रीसिया टोलमा फेला परेको थियो।

अभियुक्तहरुले ५० लाख रुपैयाँ फिरौतीका लागि हत्या गरेको बयान दिएका थिए। हत्यामा संलग्न दिलीप वीरगंज अलौमा सञ्चालित गुरुकूल पन्ना मेमोरियाल बोर्डिङ स्कूलका शिक्षक हुन्। निरज विद्यालयका विद्यार्थी थिए। उनी निरजसँग नजिक थिए। यादव दिलीपका सहयोगीका रुपमा देखिएका छन्।

पटेल वीरगंज श्रीसियाको भन्सार टोल मावन सेवा आश्रम नजिकैको भवनमा डेरा गरी बस्दै आएका थिए। बालकको शव उनकै डेरा नजिकैको शौचालयको सेफटी टयांकीमा फेला परेको थियो।