काठमाडौं । चलचित्र विकास बोर्डले घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम संचालन गरिरहेको छ। यसबिच ईलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सम्पन्न भएको छ।

ती स्थानमा माघ १२ देखि १८ गतेसम्म चलचित्र भवनहरुको सुविधा नभएका क्षेत्रमा खुला स्थानहरुमा अस्थायी रुपमा सिनेमा हलको स्वरुप तयार गरि चलचित्र प्रदर्शन गरिएको थियो। फिल्म प्रदर्शनसँगै चलचित्रका बारेमा जागरण ल्याउन र चलचित्र हेर्न प्रोत्साहन गर्ने विषयमा छलफल चलेको थियो।

इलाम जिल्लाको देउराली बजारमा रहेको सामुदायिक भवन, पाँचथरको घुर्बेसी पञ्चमी बजारस्थित घुर्बेसी पञ्चमी माध्यमिक विद्यालय र शान्ति बाल विकास बोर्डिङ्ग स्कूल, घुर्बेसी पञ्चमी बजारमा रहेको टहरा तथा ताप्लेजुङको फुङलिङ बजारस्थित जिल्ला समन्वय समितिमा रहेको सिटी हलमा नेपाली चलचित्रहरु ‘अग्नीदहन’, ‘कृ’ र ‘क्याप्टेन’ प्रदर्शन गरिएको थियो। सातै प्रदेशमा सिनेमा घरहरु नभएका स्थानीय तहमा फिल्म देखाउने बोर्डको योजना छ।