इटहरी । नेपाल चिकित्सक संघले देशभर स्वास्थ्य सेवा अवरुद्ध गर्ने निर्णय फिर्ता लिएको छ। संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार आइतबार बिहान प्रधानमन्त्री कार्यालयमा भएको दुई पक्षबीचको छलफलमा आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो। 

संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार सरकारसँग सहमति भएसँगै घोषणा भएका आन्दोलनका सबै कार्यक्रमहरू स्थगित भएका छन्।आइतबार बिहानै ८ बजे देखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भएको थियो। 

वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयको प्रतिनिधिहरु उपस्थित थिए।चिकित्सक संघको तर्फबाट नेतृत्व डा. लोचन कार्कीले गरेका थिए भने सो टोलीमा महासचिव डा बद्री रिजाल, डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरुको सहभागिता थियो।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षार्थ खटिएका प्रहरीबाट एक जना चिकित्सक पिटिएपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएको थियो। संघले आइतबार आकस्मिक बाहेकका देशका सबै स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो।