काठमाडौं । आज फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ । प्रणय दिवसमा प्रेमिल जोडीहरुले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्ने गर्छन् ।आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा प्रणय दिवस मनाइन्छ ।

 पश्चिमा देशहरुबाट सुरु भएको भ्यालेन्टाइन पछिल्लो वर्षहरुमा नेपालमा पनि मनाइँदै आइएको छ । आजको दिन प्रेमिल जोडीहरुले एक अर्कालाई रातो गुलाफको फूलसँगै उपहार दिएर प्रेम प्रस्ताव राख्ने गर्छन् ।यसअघि प्रेमिल जोडीहरुले भ्यालेन्टाइन सप्ताह अन्तर्गत ७ फेब्रुअरीमा गुलाफ दिवस (रोज डे), दोस्रो दिन फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ किस डे मनाइसकेका छन् ।

 सप्ताहको आज मुख्य दिन १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे मनाइँदैछ ।भ्यालेन्टाइन डे पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमनका सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो ।

उनले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए । सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राटको निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे । उनी अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्थे । त्यसैले भ्यालेन्टाइनले युवा युवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह गर्ने गर्दै हिड्ने गरेका थिए ।

आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राटले ईपू २७० को १४ फेब्रुअरीका दिन मृत्युदण्ड दिएका थिए । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा उनका अनुयायीहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरेका थिए ।