काठमाडौं । बलात्कारको आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सर्वोच्च अदालतमा आज (आइतबार) सुनुवाइ हुँदैछ ।‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको एकल इजलासले आजका लागि पेशी तोक्न आदेश दिएको हो ।

आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमति दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ ।सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुप र्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमति माग्नुपर्ने छैन ।

 लामिछानेमाथि किशोरी बलात्कारको आरोप छ । उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । शुक्रबार नै लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदनसहित विदेश जान अनुमति मागिएको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो ।

आइतबार दुई जना न्यायाधीश रहने संयुक्त इजलासमा दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।उच्च अदालतले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि त्यसविरुद्ध पीडितका तर्फबाट भने उच्च सरकारी वकिल कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो । सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने पीडित पक्षको माग छ ।