धरान/ लांघाली सामुदायीक वन तथा धरान चक्ला वनमा लागेको वन डढेलो नियन्त्रणमा लिईएको छ। करिब १० हेक्टर वन क्षेत्रमा लागेको बन डढेलो आईतबार नियन्त्रणमा लिईएको हो। 000

सुख्खा र खडेरीको मौसम सुरु भएसँगै वनमा डढेलो लाग्न थालेको र सो डढेलो सव डिभिजन वन कार्यालय बिष्णुपादुका धरानका कर्मचारीहरु, सशस्त्र प्रहरी बल, धरान बेस क्याम्प, अस्थायी प्रहरी चौकी, तीनकुने धरानका प्रहरी तथा लांघाली सामुदायिक वनका उपभोक्ता मिलेर नियन्त्रणमा लिएको सव डिभिजन बन कार्यालय बिष्णुपादुका धरानका सव डिभिजन प्रमुख बिक्रम अमात्यले बताउनुभयो। dadhelo

डढेलोको कारण करिब १० हेक्टर वन क्षेत्रमा असर परेको, वन्यजन्तुको बासस्थानमा क्षति पुगेको अमात्यको भनाई छ। लामो समयसम्म पानी नपरेर सुख्खा मौसम भएको अनि रुख बिरुवामा पुरानो पात झर्ने तथा नयाँ पात पाउलिने समय भएकाले वनको सतहमा सुकेको पात धेरै थुप्रिएका कारण डढेलो फैलिएको हो। 22

दिउँसो २ बजेको समयमा वनमा आगो लागेको खबर पाउनासाथ वन कार्यालय, सुरक्षा निकाय तथा सामुदायिक वन उपभोक्ता समूह बीचमा आपसी समन्वय गरी करिब ५ घण्टापछि पूर्ण नियन्त्रणमा लिएको सव डिभिजन प्रमुख अमात्यले बताउनुभयो।

अनियन्त्रित डढेलो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको बारुण यन्त्रको समेत प्रयोग गरिएको थियो। वनमा डढेलो लगाउनेको खोजी भईरहेको अमात्यको भनाई छ। 2

वन ऐन २०७६ बमोजिम राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा त्यस्तो कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन बर्षसम्म कैद वा साठी हजार रुपैँयासम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ।

कोही कसैले वनमा आगलानी हुने किसिमको कुनै शंकास्पद गतिविधि गरेमा वन समूह, वन कार्यालय वा सुरक्षा निकायमा खवर गरिदिन समेत कार्यालयले अनुरोध गरेको छ।