लेटाङ/ मोरङको लेटाङ नगरपालिकास्थित लेटाङ बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेकपा एमाले समर्थित अनेरास्ववियुको प्यानल नै बिजयी भएको छ। आइतबार सम्पन्न निर्वाचनको मतगणनापश्चात गएराति सार्वजनिक गरिएको परिणाम अनुसार लेटाङ क्याम्पसमा अनेरास्ववियुका छवि श्रेष्ठ नेतृत्वको प्यानल नै विजयी भएको हो।

अनेरास्ववियुका श्रेष्ठ १ सय ५३ मतप्राप्त गर्दै ३६मतान्तरले बिजयी हुनुभयो। यता पराजित भएका नेपाल बिद्यार्थी संघका लेखनाथ दाहालले १ सय १७ मत प्राप्त गर्नुभयो। यसैगरी सचिवमा अनेरास्ववियुकै पुजेस अधिकारी, कोषाध्यक्षमा सागर पौडेल तथा सदस्यहरुमा सम्झना रिमाल, उर्मिला तामाङ, इन्दिरा तिम्सिना, सुमित्रा मगर र निशान भुजेल विजयी हुनुभयो।

समानुपातिकतर्फ जम्मा २ सय ७७ मत खसेकोमा अनेरास्ववियुले १ सय ३९ मत र नेपाल बिद्यार्थी संघले १ सय ३३ मत प्राप्त गरेका छन्। समानुपातिकतर्फबाट अनेरास्ववियुका ४ जना र नेविसंघका ३ जना बिजयी भएका छन्। सभापतिमा बिजयी भएका श्रेष्ठ अनेरास्ववियु लेटाङ नगर कमिटी सहसचिव हुनुहुन्छ। लेटाङ क्याम्पसमा ३ सय बढी विद्यार्थी अध्ययनरत रहेकाले १५ सदस्यीय स्वतन्त्र बिद्यार्थी युनियनका लागि निर्वाचन गरिएको थियो।

लेटाङ क्याम्पसमा एमाले समर्थित अनेरास्ववियु एकतर्फ थियो भने अर्को तर्फ नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत दलका बिद्यार्थी संगठन गठबन्धन बनाएर चुनावी मैदानमा थिए।