झापा । झापाको दमक नगरपालिकाले नक्कली किसान बनेर अनुदान लिने र अनुदान लिएपछि बेखबर बन्ने कार्यलाई निरुत्साहित गर्ने जनाएको छ । दमक नगरपालिकाले सुरु गरेको किसान परिचयपत्र वितरण कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले किसानको नाममा भइरहेको दुरुपयोग घटाउन यस्तो अभ्यास सुरु गरेको बताएका हुन ।

किसान परिचयपत्रको वितरण सुरुवात गर्दै नगर प्रमुख थापाले नगरपालिकाले वास्तविक किसानको पहिचान गर्ने बताउँदै नक्कली किसानलाई कुनै सुविधा नदिने बताए ।नगरपालिकाको कृषि शाखामार्फत बिहीबारदेखि किसान परिचयपत्र वितरण सुरु गरेको हो ।

मैले कृषिका विभिन्न अनुदान लिन आफ्नै जग्गा वा जग्गा भाडामा लिएर काम गरेजस्तो गर्ने र अनुदान पाएपछि केही पनि नहुने गरेको समेत देखेको र सुनेको छु, थापाले भने । यस्तो कार्यलाई रोक्न नगरपालिका लाग्छ र यसमा सबैको साथ अवश्यका पर्छ, उनको भनाइ छ ।दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले किसान परिचयपत्रको आधारमा किसानलाई आवश्यक सहुलियत तथा कृषि शाखामार्फत उपलब्ध गराउने सेवाहरू प्रदान गरिने बताइन् । वास्तविक किसानसम्म पालिकाको काम सहज रूपमा पुग्ने विश्वास लिएका छौँ, उनले भनिन् ।

कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईका अनुसार दमकका १० वटै वार्डका ८ सयभन्दा बढी किसानहरूको किसान परिचयपत्र तयार भइसकेको छ । प्रारम्भिक चरणमा बिहीबार ८० जना किसानहरूको परिचयपत्र वितरण गरिएको छ । यो नियमित प्रक्रिया भएकाले हामी जारी राख्छौँ, उनले भनिन् ।

कृषि शाखामार्फत पाइने सुविधा तथा विभिन्न सेवा समेत दिइने अनुदानको आवेदन दिँदा अब अनिवार्य किसान परिचयपत्र आवश्यक हुने उनको भनाइ छ । किसान परिचयपत्र पाएपछि किसानहरू खुसी भएको जनाउँदै यसको औचित्य पुष्टि हुनेगरी काम गर्ने उनले बताइन् ।