उदयपुर । नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार ३६ करोड बक्यौता नतिरेपछि आइतबार उद्योगको लाइन काटिदिएको हो ।

‘विभिन्न समयको करिब ३६ करोड बक्यौता थियो । रकम भुक्तानी गर्न साताअघि नै पत्र पठाएका थियौं । समयमै भुक्तानी नगर्दा आइतबारदेखि लाइन काटेका छौ,’ उनले भने । २०७६ सालदेखिकै बक्यौता राखेको उद्योगले पछिल्ला चार महिनामा भुक्तानी नै बन्द गरेको भन्दै गत पुसमा पनि पत्र काटेको थियो ।

तत्काल भुक्तानी नगरे प्राधिकरणले लाइन काट्ने चेतावनी दिएको थियो । मिटर रिडिङ गरेको ६०औं दिनसम्म महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा लाइन काटिने पत्र पठाइएको थियो । त्यसपश्चात सिमेन्ट उद्योगले करिब ६ अर्ब भुत्तानी गरेको थियो । पछिल्लो समय पनि भुक्तानी रोकेपछि साताअघि फेरि पत्र काटेको थियो । ‘त्यसबेला बक्यौता रकम ४२ करोड थियो । बक्यौता रकम केही घटाए पनि ३६ करोड बाँकी भएकाले काट्ने निर्णय गरेका छौं,’ प्रमुख खत्रीले भने ।