काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद् बैठकले कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिइन् । दोस्रो जनआन्दोलनमा घाइते भएका कायस्थको २८ वैशाखमा ३२ वर्षको उमेरमा निधन भएको थियो ।

उनी विगत १७ वर्षदेखि जिउँदो शहीदको रूपमा रहेका थिए । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा थलिएका थिए । ओछ्यानबाट लडेका मुकेश कहिल्यै उठेनन् । १७ वर्षदेखि उनी जीवन र मृत्युसँग लडिरहेका थिए ।

निरन्तरको स्याहार र उपचारपछि देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्ने सम्म भएका मुकेश २०७५ असारमा अचानक बिरामी परेपछि पुरानै अर्धचेत अवस्थामा फर्किएका थिए । उनको उपचारमा संलग्न स्वर्गीय डा. उपेन्द्र देवकोटा र बसन्त पन्तले पनि उनमा आएको सुधारलाई ‘चमत्कार’ भनेका थिए ।