इटहरी/ सुनसरीको इटहरीस्थित धरान रोडमा रहेको होटेल सोल्टी वेस्टेन्ड भोलि बुधवारदेखि सञ्चालनमा आउने भएको छ। अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिइने होटेल सोल्टी वेस्टेन्डले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो।

करिब २ अर्ब रुपैँया लगानीमा निर्माण गरिएको होटेलमा ८० वटा कोठा रहेको जनाउँदै होटेलको ब्यवस्थापन समुहले २०७२ सालदेखि होटलको निर्माण शुरु गरिएको जनाएको छ।

पत्रकार सम्मेलनमा होटेलका अध्यक्ष भीम पौडेलले यो होटेलले इटहरीको व्यवसायिक र पर्यटकीय गतिविधि विकासमा भूमिका खेल्ने बताउनुभयो। उहाँले आँफुहरुले बिशेष गरी बाहिरी देशबाट आउने बिदेशी पाहुनालाई लक्षित गरेको बताउनुभयो।

अध्यक्ष पौडेलले इटहरीमा धेरै म्यानपावर कम्पनिहरु रहेको र त्यहाँ कामदारको अन्तरवार्ता लिन विदेशी आउने गरेका भएपनि उनीहरू बस्नकै लागि बिराटनगर, बिराटचौक पुग्नुपर्ने अवस्था रहेको भन्दै त्यसलाई मध्यनजर गरी ती पाहुनालाई इटहरी नै राख्ने प्रयासस्वरुप होटेल सञ्चालनमा ल्याईएको बताउनुभयो।

होटेलका उपाध्यक्ष सुदर्शन चापागाईँले होटेलले अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने जानकारी दिनुभयो। होटेलमा स्वीमिङपुल, साउना, स्पा, कार्यक्रम तथा सेमिनार हल, फिटनेस सेन्टरलगायतका सुविधा छ। होटेलले उद्घाटनको अवसरमा विशेष छुट सुविधा समेत दिएको छ ।