काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारसँग तलब खुवाउने समेत पैसा छैन भन्ने कुरा उडन्ते रहेको बताएका छन् । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सिंहदरबारमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘तलब नै छैन भनेर यो कसले भन्यो भनेर यो उडन्ते कुराको पछाडि यहाँहरु त कमसेकम लाग्नु भएन नि !’

उनले तलब, भत्ता र सामाजिक सुरक्षाका कुराहरुमा गरिएका कमिटमेन्टहरू पूरा गरिने दाबी गरे । ‘हामीले तलब, भत्ता, पेन्सन जे जे कमिटमेन्ट हो त्यो पूरा गरिरहेका छौं, भविष्यमा पनि केही समस्या आउने छैन । सामाजिक सुरक्षा हामीले कमिटमेन्ट गरेका छौं, त्यसबाट ब्याक गर्ने कुरा छैन । त्यसलाई जसरी पनि रिसोर्स जुटाएर गर्छौं,’ उनले भने ।

‘विद्युतीय गाडीमा कसैलाई ‘फेबर’ गरेको भए पद त्याग्न तयार छु’

बजेटमार्फत ५० देखि १०० किलोवाटसम्म विद्युतीय गाडीमा कर बढाएका अर्थमन्त्री डा. प्रकाशरण महतले छुट दिएको दावी गरेका छन् ।महतले महँगा विद्युतीय गाडीमा कर घटाएर सर्वसाधारणले बढी उपभोग गर्ने विद्युतीय गाडीको कर बढाएका थिए । उनले पत्रकार सम्मेलनमा विद्युतीय गाडीमा कर नबढेको, सस्तो भएको र स्वदेशी उद्योगलाई प्रोत्साहन गरेको दावी गरे ।

सरकारले प्रोत्साहन गरेको र व्यवसायीको मार्जिन कस्ट बढी भएको हुँदा घटाउने काम गर्नुपर्ने भन्दै महतले विद्युतीय गाडीमा आफूले कसैलाई फेबर नगरेको दाबी गरे । ‘कसैलाई फेबर गरेको भए म अहिले नै पद छाडेर हिँड्छु’, मन्त्री महतले भने । अर्थमन्त्रीले यस्तो दाबी गरे पनि विद्युतीय गाडी नबेच्ने र १०० किलोवाटभन्दा बढीको ईभी बेच्ने व्यवसायीलाई भने फाइदा भएको छ ।