काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा गरेको धार्मिक भ्रमण नेपालमा चासो र चर्चाको विषय बनेको छ ।

नेपालको एक ठूलो कम्युनिष्ट पार्टीका अध्यक्ष दाहालले भारतका मन्दिरहरुमा भ्रमण गरी पूजाआज गरेको प्रसङ्ग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । दाहालका समर्थकले त्यसका बचाउ गरे पनि धेरैले त्यसको आलोचना गरेका छन् ।

आफ्नो देशको पुशपतिनाथ मन्दिरमा कहिले विशेष पूजा नगरेका दाहालले शुक्रबार भारतको इन्दौरस्थित महाकालेश्वर मन्दिरमा भने गेरु वस्त्र लगाएर पूजा गरेका थिए । त्यति मात्र होइन उनले १०८ किलोको रुद्राक्षको माला पनि चढाएका छन् । उनले बिरामी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गर्नुको साथै रुद्राक्ष र नगद दान गरेका हुन् ।

प्रधानमन्त्री दाहालको यो कदमलाई उनकै पूर्व सहकर्मी तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि आलोचना गरेका छन् । अहिले भट्टराई कम्युनिष्टको मुल नारा छोडेर नेपाल समाजवादी पार्टी खोलेर बसेका छन् । उनै भट्टराईले दाहालले महाकालेश्वर मन्दिरमा पूजा गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै ‘हामी कता जाँदैछौँ, देश कता जाँदै छ ?’ भन्दै प्रश्न गरेका छन् । कम्युनिष्ट नेताले मन्दिरमा पूजा गरेको सन्दर्भमा भट्टराईले यो प्रश्न गरेका हुन् ।