झापा । दमक नगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो ।
 
नगरको पशुसेवा शाखाका प्रमुख गणेशकुमार प्रधानले जिल्लामै पहिलोपटक दमक नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि रु १० लाख बराबरको भ्याक्सिन खरिद गरेर निःशुल्क लगाउन थालेको बताउनुभयो ।
 
“विगत तीन वर्षअघि देखा परेको रोग अहिले महामारीकै रुपमा फैलियो”, उहाँले भन्नुभयो, “रोग नियन्त्रण गर्ने एक मात्र माध्यम भ्याक्सिन हो । बजेटले भ्याएसम्म निःशुल्क लगाई दिन्छौँ ।” उहाँले टोल विकास समितिमार्फत प्राविधिकलाई किसानको गोठगोठमा पु¥याएर भ्याक्सिन लगाउन निर्देशन दिइएको बताउनुभयो ।
 
रोग नलागेका वस्तुलाई मात्र भ्याक्सिन लगाउन थालेका उहाँको भनाइ छ । उहाँले नगर क्षेत्रका साढे चार हजार गाई गोरुलाई पुग्ने गरी भ्याक्सिन खरिद गरिएको बताउनुभयो । शनिबारदेखि नै वडा नम्बर १० बाट भ्याक्सिन लगाउन सुरु गरिएको उहाँले बताउनुभयो । उहाँलै दुई दिनमा सात सय गाई गोरुलाई भ्याक्सिन लगाइसकेको बताउनुभयो ।
 
दमक नगरपालिकामा लम्पी स्किन रोगबाट हाल तीन हजार बढी गाई, गोरु, राँगा, भैँसी बिरामी भएको उहाँले जानकारी दिनुभयो । उहाँले प्रति भ्याक्सिन रु दुई सय २९ का दरले खरिद गरेर किसानलाई राहत पुर्याउने उद्देश्यले निःशुल्क दिएको बताउनुभयो । यसअघि जिल्लाका विभिन्न पालिकाका किसानले आफैँ भ्याक्सिन खरिद गरेर पशुलाई लगाउँदै आएका छन् ।