काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवाले नेम्वाङको निधनले मर्माहत बनाएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस्तै, नेकपा एमालेका नेताहरू प्रदीप ज्ञवाली नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् भने महेश बर्तौलाले मियो गुमाएको बताएका छन् ।

दिवंगत नेम्वाङलाई श्रद्धाञ्जली दिने शीर्ष नेताहरू त्रिवि शिक्षण अस्पतालमै पुगेका छन् । प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका साथै एमाले नेताहरू अस्पतालमा छन् ।