नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा एमालेको विचार गोष्ठी

  • पूर्वीखबर
  • प्रकाशित मिति: आश्विन २, २०८०

काठमाडौं । नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज (मंगलबार) विचार गोष्ठी गर्दैछ ।

‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिएको छ । कार्यक्रम तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासलमा मध्याह्न साढे १२ बजेदेखि सुरु हुनेछ ।

विचार गोष्ठीलाई अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्नेछन् । अन्य ६ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू सहभागी हुनेछन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्तीसहित सहभागी हुने तय भएको छ ।

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् नीलाम्वर आचार्य पनि उपस्थित हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

एमाले प्रचार विभागका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ कोसीको इलाममा, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ता रहनेछन् ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved