इटहरी/ बिहिबार दिउसो इटहरी प्रहरीलाई एउटा खवर आयो, खवर थियो, ठुलो परिमाणको नक्कली पैसा दिएर सक्कली पैसा साटिँदैछ। यो खवर आएपछि इटहरी प्रहरीले सादा पोशाकमा प्रहरी खटायो। सादा पोशाकका प्रहरीले करिव १६लाख नगदसहित बिवेक राईलाई नियन्त्रणमा लियो।
सादा पोशाकका प्रहरीले इटहरी बजारबाट एकहजार दरका १५लाख ८७ हजार रुपैँया नक्कली नोटसहित संखुवासभाको पाँचखपन नगरपालिका ५का बिवेक राईलाई नियन्त्रणमा लिएको थियो। बिवेकलाई नियन्त्रणमा लिने क्रममा घम्साघम्सी हुँदा सादा पोशाकका प्रहरीको हात बटारेर बिवेक फरार हुन खोजेका थिए।



प्रहरीले बिवेकलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गर्दा त्यो नक्कली नोट कसैलाई ‘ह्याण्डहोभर’ गर्न लागेको भन्ने थाहा भयो, त्यसपछि नक्कली नोट ‘रिसिभ’ गर्ने ब्यक्ति खोजी शुरु भयो, प्रहरीले ‘रिसिभर’ लाई खोजी गर्दा ‘रिसिभर’ले कहिले कता त कहिले कता ‘रिसिभ’ गर्छु भन्दै सादा पोशाकका प्रहरीलाई अल्मल्याउन खोज्यो, त्यसपछि सादा पोशाकका प्रहरीले ‘रिसिभर’ लाई बिश्वस्त पारेपछि ताततलैयामा नक्कली नोट ‘रिसिभ’ गर्न ‘रिसिभर’ तयार भयो। त्यसपछि सादा पोशाकका प्रहरीले इटहरी ३बाट पैसा ‘रिसिभ’ गर्ने जिम्मा पाएका संखुवासभाको मकालु गाउँपालिका ६का अजय राईलाई नियन्त्रणमा लिएको थियो।
बिहिबार पक्राउ परेका शुक्रबार सार्वजनिक
१५ लाख रुपैयाँ भन्दा बढिको नक्कली नोटसहित पक्राउ परेका बिवेक र अजयलाई इलाका प्रहरी कार्यालय इटहरीले शुक्रबार दिउसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीसहितको उपस्थितीमा इटहरी प्रहरीले उनिहरुलाई सार्वजनिक गरेको छ।
इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनिहरुको साथबाट नक्कली नोटका अतिरिक्त तीन थान मोबाइल पनि बरामद गरेको छ।
पक्राउ परेकाहरुले नक्कली नोट काठमाण्डौबाट छापेर पूर्व ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इटहरीका प्रहरी नायव उपरीक्षक टेक ब. कार्कीले पत्रकार सम्मेलनमा बताउनुभयो। वरामद नक्कली नोट जाँचका लागि फरेन्सिक ल्याबमा पठाईने प्रहरीले जनाएको छ।
पक्राउ परेकाको बयानको आधारमा प्रहरीले अर्का एकजनालाई शुक्रवार (आज) बिहान काठमाण्डौबाट पक्राउ गरेको र उनलाई इटहरी नै ल्याईने प्रहरीले जनाएको छ।