इटहरी/ सुनसरीको इटहरीमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजना युवकको ज्यान गएको छ। शुक्रबार बिहान साढे ९बजेतिर प्रदेश १–०२–०४६प १९६७ र प्रदेश १–०२–०४६प ७२५८नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

इटहरी १२ खनारस्थित ट्रान्सपोट नजिकै मोटरसाइकल ठोक्किँदा गम्भिर घाईते भएका सुनसरीको देवानगञ्ज ५ घर भएर दुहबी ८ बस्दै आएका २३ वर्षीय पवन कुमार साह र बिराटनगर १ का १९वर्षीय अजित थापाको उपचारका क्रममा ज्यान गएको हो।

शुक्रबार बिहान ९ः३०बजेतिर दुईवटा मोटरसाईकल ठोक्किँदा अनियन्त्रित भएको एउटा मोटरसाइकल स १ ख ८१६नम्बरको बससँग ठोक्किन पुगेको थियो।

दुर्घटनामा गम्भिर घाईते भएका साह र थापाको उपचारको क्रममा ज्यान गएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीले जनाएको छ।

दुर्घटनामा घाईते भएका बिराटनगर २ का सुशान्त दाहालको बिराटनगरस्थित बिराट–नर्सिङ होममा उपचार भईरहेको प्रहरीको भनाई छ।

घटनाबारे थप अनुसन्धान भईरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीले जनाएको छ।