कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार बझाङ पुगेका हुन् । प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका बझाङका केही स्थानको अवलोकलन गर्नेछन् । त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तक्रिया गर्ने लगायत कार्यक्रम तय भएको छ ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले बझाङमा एक जनाको मृत्यु भएको थियो । केही घाइते भएका थिए भने भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् ।

प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् । उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताए । प्रधानमन्त्रीसँग भूकम्प प्रभावित बलबहादुर सुनारले आफूहरुका समस्या सुनाएका थिए । त्यो समस्या सुने पछि प्रचण्डले समस्या समाधानका लागि चाँडै पहल गर्ने बताएका हुन् ।