इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीलाई नियुक्त गर्न एमाले र कांग्रेस नेता शेखर कोइराला समूहका सांसदहरूले प्रदेश प्रमुख कार्यालय पुगेका हुन् । त्यसका लागि एमालेका ३९ र कांग्रेस कोइराला समूहका ८ सांसद प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् ।
कांग्रेसका कार्कीले एमाले र कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित बिहीबार साँझ मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । एमाले र कांग्रेसका ८ सांसदहरूले कार्कीलाई तत्काल मुख्यमन्त्रीमा नियुकत गर्नुपर्ने माग पनि गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दिएको समय सीमा ५ बजे सकिएको छ । त्यसैले कार्कीलाई मुख्यमन्त्रीमा तत्काल नियुक्त गर्न प्रदेश प्रमुख खापुङमाथि दबाब बढाउन एमालेका ३९ र कांग्रेसका ८ सांसद सशरीर उपस्थित भएका हुन् ।
सत्ता गठबन्धनतर्फबाट भने मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । आङ्बोलाई सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन छ । तर, कांग्रेसका कार्कीसहित ८ सांसदले भने आफूहरूको पुरानो हस्ताक्षर प्रयोग गरेर आङ्बोले दाबी पेस गरेकाले मान्यता नदिन प्रदेश प्रमुख खापुङसमक्ष बिहीबार नै निवेदन दिइसकेका छन् ।
उनीहरूले मुख्यमन्त्रीमा आङ्बोलाई आफूहरूले समर्थन नगरेको बताएका छन् । मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समय सीमा सकिएपछि प्रदेश प्रमुख खापुङ अहिले कानुनी परामर्शमा छन् । कार्यकक्षभित्र बसेर खापुङले प्रदेश प्रमुखको कार्यालयकै कर्मचारीसँग छलफल छन् । प्रदेश प्रमुख कार्यालयका अनुसार छलफल मुख्यतः सर्वोच्च अदालतले गरेको व्याख्यामा केन्द्रित छ । कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्न ४७ सांसदको समर्थन आवश्यक पर्छ ।