प्राविधिकको सल्लाहबिना जथाभावी खेतबारीमा रसायनिक मलको प्रयोग गर्नाले माटोको उर्वराशक्तिमा ७० प्रतिशतसम्म ह्रास आएको छ। क्षेत्रीय माटो प्रयोगशालाले दिएको तथ्यांकअनुसार अहिले कम्पोष्टमलको प्रयोग घट्दै गएर रसायनिक मलमा मात्र किसानहरु भर पर्नाले प्रदेश १भरी नै माटोले उत्पादन क्षमता गुमाउँदै गएको हो।

क्षेत्रीय माटो परिक्षण प्रयोगशालाले प्रदेश नं.१का अलावा अन्य दुई जिल्लाको समेत माटो परिक्षण गर्ने गरेको छ। प्रयोगशालाका योजना प्रमुख माटोबिज्ञ रामअषिष यादवले प्रत्येक बर्ष माटोमा अम्लियपन बढ्दै गएकाले किसानले जति उत्पादन हुनुपर्ने हो त्यो नभइ ह्रास आइरहेको बताउनुभयो।

आर्थिक बर्ष २०७१÷०७२मा माटो परिक्षण शिविरमा संकलित ३ हजार ८ सय ७९ नमूना परिक्षणमा ६७ प्रतिशतमा अम्लियपना भेटिएको र सोही बर्ष किसानले ल्याबमा ल्याएको ८ सय ८० नमूनामा ५१ प्रतिशतमा अम्लियपना भेटिएको थियो।
त्यस्तै आर्थिक बर्ष ०७२÷७३ मा शिविरमा संकलित २ हजार ७ सय ५९ नमूनामा ४८ प्रतिशत अम्लियपन भेटिएको थियो। त्यस्तै सोही बर्षको ल्याबमा आएका ९ सय ६ नमूनामा ८६ प्रतिशत अम्लियपन भेटिएको थियो।

त्यस्तै गत बर्ष ०७३÷०७४ मा छ सयवटा नमूना ल्याबमा परिक्षण गरिएकोमा ७० प्रतिशत अम्लियपन भेटिएको थियो। शिविरमा तीन हजार छ सय ८३ नमूना परिक्षण गर्दा ७३ प्रतिशत अम्लिय पदार्थ भेटिएको छ। माटोमा अत्याधिक मात्रामा रसायनिक पदार्थको प्रयोगले अम्लियपन हुनेगर्छ । अम्लियपना बढेपछि उत्पादन ह्रास हुदै जान्छ।

प्रयोगशालाका निमित्त प्रमुख नाथुप्रसाद चौधरीले माटो १६ वटा तत्व हुने र त्यो तत्वहरु रसायनिक मलको बढ्दो प्रयोगले तलमाथि हुन जाँदा उत्पादन प्रभावित हुने गरेको बताउनुभयो। माटोमा पिएच, नाइट्रोजन, फस्पोरस, पोटास, टक्सचर, प्राङ्गागारिक लगायत १६पदार्थ रहेका हुन्छन। यी पदार्थ माटोमा सन्तुलित रहेनन् भने माटोको उर्वरा शक्ती नास भै माटो मरभूमिमा परिणत हुन्छ।

चौधरीले रसायनिक मल माटोका लागि कत्तिको आवश्यकता छ वा कस्तो प्रकृतिको मलको आवश्यकता छ भन्ने बिषयमा कृषकहरुलाई कमै जानकारी हुने हुँदा जुनसुकै परिस्थितिमा कृषकहरु बढी उत्पादन लिनका लागि रसायनिक मलको प्रयोग गर्ने गरेको बताउनुभयो।

कृषकहरुले प्राय धान रोपाई गर्नुअघि डिएपी, पोटासलगायतका मलहरु प्रयोग गर्छन् भने धानको बेर्ना बढ्न समयमा युरियालगायतका मल खेतबारीमा हाल्ने गर्दछन्। यसरी रसायनिक मलको प्रयोग गर्दा कृषकहरुले माटाको परिक्षण गरेर माटोलाई आवश्यकता परेको मलको प्रयोग नगर्ने गरेको पाइएको छ।

माटोमा अनिवार्य हुनुपर्ने प्रागांरिक पदार्थहरु घट्दै गएको र त्यही घटेकै कारण माटोको उत्पादकतत्वमा कमी आई बढी मल प्रयोग गर्दा मात्र उत्पादन दिने सक्ने अवस्था आएको माटो विज्ञ यादवले बताउनुभयो।

बिरुवाले जीवित माटोबाट १६ मध्ये १३ वटा प्रांगारिक पदार्थहरु लिने गर्दछ। यही पदार्थका कारण बिरुवाले माटोबाट आपूmलाई आवश्यक खाद्यबस्तु लिने गर्दछ। माटोमा जतिधेरै प्रांगारिक पदार्थ भयो त्यति नै छिटो बिरुवाले आपूmलाई चाहिने बस्तु सोसेर लिन सक्छ। तर पछिल्लो समय माटोमा हुनुपर्ने अनिवार्य प्रांगारिक पदार्थ रित्तिदै गएको यादव बताउनुहुन्छ।

उहाँले माटो उर्वरा शक्तीमा ७० प्रतिशत अम्लियपन बढेकाले उत्पादनमा पनि उत्तिनै कमी आएको देखिएको बताउनुभयो। पछिल्लो दस बर्षका माटो परिक्षणमा पहाडको तुलनामा तराईमा अझ निराशाजनक अवस्था देखाएको छ। अन्नभण्डार मानिने तराईको माटोमा प्रांगारिक पदार्थ निकै कम हुदै गएको तथा यही गतिमा माटो निर्जीव नै त बन्ने होइन भन्ने चिन्ता बढेको बिज्ञहरुले बताएका छन्।

झुम्कास्थित क्षेत्रीय माटो परिक्षण कार्यालयले पूर्वका १६ जिल्लाका माटाको परिक्षण गरी त्यसको गुणस्तरीयता जाँच गर्दै उपचारका लागि सिफारिस गर्ने गरेको छ। उत्पादनका हिसाबले पकेट क्षेत्र मानिएको तराईका झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी लगायतका जिल्लाहरुमा अम्लीय माटो रहेको छ। माटोमा अम्लीयपन रहेको र प्रांगारिक पदार्थ पनि कम हुदै गएका कारण उत्पादन न्यून हुन थालेको छ।

उत्पादन कम भएपछि कृषकहरुले बढी उत्पादन लिनका लागि अझ बढी रसायनिक मलहरु प्रयोग बढाउदै लगेका छन्। माटोको अम्लीयपन हटाउन र माटोमा प्राङ्गारिक पदार्थको बृद्धि गर्नका लागि कृषि चुर्णको प्रयोग गर्नुपर्ने र यसका लागि माटो परिक्षण गरी माटोको अवस्थाअनुसार त्यसको उपचार गर्न माटो परिक्षण केन्द्रले सुझाव दिएको छ।

माटो परिक्षण गर्न खासै गाह्रो नभएको र किसानले एक सय रुपैयामा माटो परिक्षण गर्न सक्ने केन्द्रले जनाएको छ। अन्य निजी क्षेत्रले माटो परिक्षण गर्दा ४ सय रुपैया लागेपनि किसानलाई ७५ प्रतिशत छुट रहेको छ। आनो खेतबारीको माटोको नमुना लिएर परिक्षणका लागि दिएमा ३ देखि ५ दिन भित्रमा नतिजा आउने र माटोमा देखिएको कमजोरी पत्ता लगाई उपचार गर्न सकिने बिज्ञहरुले बताएका छन्।

-तस्विर :क्षेत्रीय माटो परिक्षण प्रयोगशाला झुम्कामा माटोको गुणस्तर परिक्षण गर्दै प्राविधिक