काठमाण्डौ/ संवैधानिक परिषदको बैठक बोलाइएको छ। परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरि परिषदको बैठक बोलाउनुभएको हो।
बैठकको एक मात्र एजेण्डा नयाँ प्रधानन्यायाधीश सिफारिस बारे छलफल गर्ने रहेको छ।परिषदका सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिसको एउटामात्रै एजेण्डा उल्लेख छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउने हुनाले नयाँ प्रधानन्यायाधीशको सिफारिश गर्ने तयारी गरिएको हो। नयाँ प्रधानन्यायाधीश सिफारिस भएपछि संसदीय सुनुवाईपछि नियुक्ति हुने प्रावधान छ।
नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ। जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी हुनुहुन्छ। सिफारिस मध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उहाँकै नाम सिफारिस हुने सम्भावना छ।
- न्युज कारखाना