आगामी असार १४ गते उद्योग बाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। नयाँ नेतृत्वमा आफ्नो पक्षमा ल्याउन दुईपक्ष बीच दौडधुप शुरु भईसकेको छ। इटहरीका उद्योगी, ब्यापारीहरु पनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अनि नेपाली कांग्रेस पक्षमा छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्दैछन्।

असारमा हुने निर्वाचनमा आफ्नो पक्षमा ल्याउन उम्मेदवारहले दौडधुप शुरु गरेका छन्। उद्योग बाणिज्य संघ इटहरीको नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अहिलेका कार्यबाहक अध्यक्ष शैलेस बिष्टलाई उम्मेदवार बनाउने भएको भने नेपाली कांग्रेसले ब्यवसायी भिम पौडेललाई उम्मेदवार बनाएको छ।

यसै सन्दर्भमा उम्मेद्वार पौडेलसँग एटिएन मिडिया प्रा.लि.द्वारा सञ्चालित पूर्वी खबरका लागि गरिएको कुराकानीको सम्पादित अंश :

* तपाँई त ब्यवसायिक मान्छे कसरी उवासंघको नेतृत्वमा आउने बिचार गर्नुभयो ?
#वास्तवमा भन्ने हो भने म ब्यापारी नै हो, यो क्षेत्रमा करिव २४बर्ष बिताईसकेँ त्यहि भएर म उद्योगी ब्यापारीको नेतृत्व गर्न सक्छु भन्ने लागेर नेतृत्वमा आउन लागेको हुँ।

* भनेपछि तपाँईलाई यति खेर समयले मागेको हो ?
# हो वास्तवमै मैले म अध्यक्ष बन्छु मलाई अध्यक्ष बनाउनुपर्छ भनेर साथिहरुलाई अहिले सम्म कुनैदिन पनि भनेको थिइन। बाहिर बजारमा हल्ला त होला तर समयले माग्यो साथिभाईले मलाई छाने मलाई मागेपछि म उमेदवार बनेको हो।

* तपाँईको चुनाव जित्ने आधार के छ ?
# इटहरीमा मैले व्यवसाय गरेको मोटामोटी २४ बर्ष भयो। यो २४ बर्षको अन्तरालमा इटहरीमा सबै खुद्रा पसल, किराना पसल, ठुला व्यापारी, साना व्यापारीलगायत सबैमा मेरो प्रत्यक्ष सम्बन्ध छ त्यतिमात्र नभएर हरेक संघ संस्थामा मेरो सहयोग छ। मेरो पसलमा आउँदा कसैलाई पनि हँुदैन भनेको अवस्था छैन। भखरै मात्रै पनि पौडेल वंश प्रतिष्ठान, कृष्ण प्रणामी मन्दिर, जेसिस भवन, जेष्ठ नागरिक भवन, अपांगका भवनहरुमा मैले बिशेष रुपले सहयोग गरेको अवस्था छ। कोहि कसैले बाटोमा भेट्दा यस्तो समस्या छ भन्दै गर्दा नाई भन्ने गरेको छैन। मेरो मुखबाट अहिलेसम्म कसैलाई अपशब्द र गालिको शब्द अहिले सम्म उच्चारण गरेको छैन। सधै सभ्य भाषा शैलिमा बोल्ने र मलाई थोरै नकरात्मक दृष्टिकोणले हेर्ने साथिहरुलाई समेत मैले नम्रतापूर्वक सम्झाउने गरेको छु। व्यवसायमा पनि अहिले पूर्वाञ्चलमा मात्रै पनि ३ हजार भन्दा बढिलाई सहयोग गरिरहँदा केहि साथिहरु म भन्दा अगाडी पनि बनिसकेको अवस्थामा पनि हाल मसँग मोटामोटि १ हजार ५ सयजना कर्मचारी छन। ती सबै कर्मचारीको व्यावस्थापन गर्ने लक्ष्यमा छु।

कर्मचारी व्यवस्थापन भन्नाले उसको घरको अवस्था कस्तो छ, घर छ की छैन, उसलाई घर बनाई दिनुपर्छ भने कुन हिसाबले बनाईदिने, कर्मचारीले कुनै दुख पाएका छन की भन्नेमा मेरो ध्यान केन्द्रित छ। जस्तै चालकले घर बनाउछु भन्दा बालुवा लैजा, गिटी लैजा ढुंगा लैजा, हार्डवेयरमा तिर्ने पैसा छैन भने लगेर तिर्दै गर भनिरहेको अवस्था छ। यस्तै बिभिन्न कारणले गर्दा यस उद्योग बाणिज्य संघको चुनावमा मलाई लाग्छ मैले सहयोग गरेका जति पनि साथिभाई, दिदि बहिनि छन् सबैले मलाई सहयोग गर्छन र यहि आधारमा म चुनाव जित्छु भन्ने मेरो बिश्वास छ।

* उसो भए नेकपाका उम्मेदवार शैलेस बिष्टलाई तपाईले कसरी हेर्नुभएको छ ?
# शैलेस बिष्ट भनेको मेरो एकदम आत्माको मान्छे, सहयोगि मित्र, उहाँ भन्ने बित्तीकै जुनसुकै ठाँउमा पुग्न सक्नुहुन्छ त्यसकारण उहाँलाई मैले नराम्रो भन्न मिल्दैन।

*के तेसो भए शैलेस बिष्ट, तपाईको अगाडी कम्जोर हो ?
# होइन तेसरी भन्न मिल्दैन र कम्जोर पनि होइन, तर अलिकती उहाँको समय छ अलिकती पर्खिनु पर्छ की ।

* दिवस पोख्रेललाई पछाडी पारेर तपाई अगाडी आउनुभयो भन्छन नि ?
# यो विल्कुल गतल कुरा हो हामीबीच सरसल्लाह र छलफल गरि सहमतिको माध्यमबाट म उम्मेदवार बनेको हुँ। यसमा पछाडी अगाडीको कुरा छैन हामी सहमति गरेर अगाडी बढिरहेका छौ।

* यदि तपाईले उद्योग वाणिज्य संघ इटहरीको चुनाव जित्नु भयो भने के के गर्नु हुन्छ, के के योजना छन् ?
# जित्नुभयो भने भन्ने त कुरौ छैन म पक्का चुनाव जित्छु। मैले जिते पछाडीको पहिलो मेरो काम भनेको इटहरी उपमहानगरपालिकालाई स्वच्छ तथा सुन्दर बनाउन सहयोग गर्नु नै हो।

* अनि योजना नी ?
# १) इटहरी उपमहानगरले जग्गा उपलब्ध गराएमा इटहरी चोकमा होस् या चोकको सेरोफेरोमा सार्वजनिक शौचालय निमार्ण गर्छु।

२) व्यवसाय फाइदाका लागि गरिने हुँदा कुन व्यवसाय गर्दा फाइदा हुन्छ, त्यस्ता फाइदाका व्यवसाय पहिचान गरेर राम्रा उद्योगको खोजि गर्छु। व्यवासायको सन्दर्भमा धेरै पढेका व्यक्तिपनि व्यवसायमा असफल भएका छन जसको प्रमुख कारण अनुभवको अभाव हो जसका लागि बिज्ञ टोलि जस्तै बलराम आर्चाय, इश्वरी भट्टराई दाईलगायतका साथि तथा अग्रज व्यक्तिसँग परामर्श तथा ट्रेनिङ गराउछु।

अर्को कुरा पहाडे मुलका व्यापारी हिसाब किताबमा कम्जोर हुन्छौँ र सधैँ व्यापार गछौँ। कमाउँछौँ पाँच लाख,जसमा जरिवाना तथा शुल्क दुई तिन लाख तिरेर हैरानभएको अवस्था छ। मैले अहिलेदेखि नै सिएको ११जनाको टोलि तयार गरेको छु। जुन टोलिलाई परिचालन गरेर ठाँउ ठाँउमा ट्रेनिङ दिने पसलमा लगेर खातापातालगायत व्यवस्थापन गर्न सिकाउने र जरिवानाबाट बच्ने उपाय सिकाउने छु।

* छ लेनको सडक बनाउने कार्यमा व्यापारीले अवरोध पुर्‍याएका छन भनिन्छ यसमा चै तपाई के गर्नुहुन्छ ?
# सडकलाई चाहिने कति हो, बजारलाई क्षति नपुर्‍याइकन बिस्तार गर्न सकिन्छ।
बजारका ठुला ठुला घर नभत्काइकन आकाशे पुल निमार्णलगायतका बिभिन्न उपाय अपनाएर सडक बिस्तार गर्नुपर्छ। संरचना भत्काउदा पनि नगर कै क्षति हुने भएकाले नभत्काई नहुने संरचना भत्काएर बनाउनुपर्छ तर ठुलो क्षति गर्नुपर्छ भन्ने पक्षमा म छैन।

*बाइपासकै कुरा गर्दा धरानमा नयाँ बाटो बनेपछि त्यता बिकास भयो र पुरानो बजारमा कारोबार गर्न जाने मान्छे नै भएनन् त्यस्तो अवस्था आयो भने चाँही ?
# धरानमा धेरै कारोवार गर्ने व्यक्ति नयाँ बजारमा बसेकाले केहि चल्तिमा आएको हो। इटहरीमा त्यस्तो अवस्था रहदैँन ।

* निचोडमा भन्दा ठुला भवन भत्काएर सडक निमार्ण गर्नु हुदैन भन्ने तपाईको धारणा हो ?
# हो सहरलाई अस्तव्यस्त बनाएर अगाडी बढ्नु उपर्युक्त हुँदैन।

* धन्यवाद

# धन्यवाद

ब्यवसायी भिम पौडेलसँग गरिएको कुराकानीको अडियो सामाग्री सुन्नुहोस