माग अनुसारको हरियो खोर्सानी उत्पादन हुन नसक्दा पूर्वी नेपालका बजारमा हरियो खोर्सानीको भाउ उच्च भएको छ। खोर्सानीको भाउ उच्च भएपछि सर्वसाधारणले खरिद गरेर उपभोग गर्न समस्या भएको हो।

स्थानीयस्तरमै खोर्सानी उत्पादन नभएपछि भारतबाट आयात गरेर पूर्वी नेपालका बजारमा बिक्रि बितरण भईरहेको छ। यतिवेला खोर्सानीको मूल्य सर्वसाधारणको आम्दानीले धान्न र खरिद गर्न नमिल्ने गरि बढेको छ।

धरानको कृषि बजारमा हाल खोर्सानीको मुल्य प्रति किलो १ सय १० रुपैंयासम्म कायम भएको छ भने स्थानीय बजारमा भने १ सय ३० रुपैंयासम्म निर्धारण भएको छ। खोर्सानीको भाउ उकालो लाग्दा सर्वसाधारणले खरिद गरेर खान नसक्ने अवस्था श्रृजना हुन थालेको छ। केही समय अघि मात्रै उपभोक्ताहरुले ८० देखि ९० रुपैंयासम्म प्रति किलो खोर्सानी खरिद गरेर उपभोग गर्ने गरेका थिए। एक्कासी खोर्सानीको मुल्य बढ्दा जसको प्रत्यक्ष असर निम्न आय भएका उपभोक्तामा परेको छ।

स्थानीय स्तरमा उत्पादनमा कमि आएकोले छिमेकी जिल्ला तथा भारतबाट मगाउनु परेकोले खोर्सानीको भाउ महंगिएको कृषि उपज बजारस्थलका ब्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो।

उहाँले भारतको वेस्ट बंगालबाट खोर्सानी आयात हुने गरेको र र्पूी नेपालका कृषकको अल्छिपनाले गर्दा पनि खोर्सानीको भाउ महंगिएको बताउनुभयो। उहाँले उत्पादन घटेपछि नेपाली बजारमा भारतबाट ल्याएर खोर्सानीको बिक्रि बितरण गर्नुपरेको बताउनुभयो।

हाल खोर्सानीको उत्पादन गर्ने मौसम नभएकोले गर्दा पनि भाउ उच्च भएको भन्दै भट्टराईले खोर्सानी उत्पादन गर्ने मौसम जेष्ठ महिना रहेको सुनाउनुभयो। स्थानीय तरकारी बजारमा पुर्वी पहाडी क्षेत्रबाट खोर्सानी भित्रिनुपर्ने भएपनि नभित्रिएसम्म भाउ घट्ने कुनै सम्भावना नरहेको उहाँको ठम्याई छ। सुनसरीको धरानस्थित कृषि उपज बजारस्थलमा मात्र हाल सातामा १ टन बराबर खोर्सानीको कारोबार भईरहेको उहाँले जानकारी दिनुभयो। धरानको स्थानीय बजारमा मात्रै ४ सय किलो बराबरको खोर्सानी कारोबार भईरहेको उहाँले बताउनुभयो। बेमौसमी खोर्सानीको खेती गर्ने किसानले भने अहिले राम्रै आम्दानी गर्नसक्ने तर उनीहरुले नगरिरहेको उहाँले जनाउनुभयो।