इनरुवा / कांग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ। सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो।

उहाँले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गर्नुभयो। नेता पौडेलले कांग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै सबैलाई अन्य पार्टी छोडेर कांग्रेसमा लाग्नका लागि आग्रह गर्नुभयो। वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेकाले त्यसमा प्रस्ट हुन आग्रह गर्नुभयो।

ppp

नेता पौडेलले कार्यकर्तामा उत्प्रेरणाको कमी रहेकाले एकमहीने जागरण अभियानमा सम्पूर्ण कार्यकतालाई पार्टीप्रतिको इमान्दारिता बढाउने कार्यमा लाग्नसमेत आग्रह गर्नुभयो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महेश आचार्य, १ नं प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, संघीय सांसद तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला सचिव केदार भण्डारीलगायतले पार्टीको जागरण कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो।