सुनसरी/ प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ। सार्वजनिक भएको ७ दिनमा आईतबार यो समाचार तयार पार्दा सम्ममा गीतले ५१लाख ९४हजार भन्दा बढी ‘भ्युअर्स’ पाएको हो।

सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नम्बर एकमा आएको थियो। जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताउनुभयो।

गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ। स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ। म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ। भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।

‘परम्परागत रोधीको झझल्को आउने गरी गीत बनेको छ’, सपुतले भन्नुभयो, ‘राम्रो प्रतिक्रिया आएको छ, उत्साहित छु।’ मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाएका छन्।

म्युजिक भिडियोको कथा, सोच र निर्माणपक्षसमेतले गीतलाई न्याय गरेको छ। लोक दोहोरीमा विशुद्ध मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ। ‘एकदमै रमाइलोका लागि बनाइएको गीत हो’, सपुतले भन्नुभयो, ‘भिडियोमा नयाँपन दिने प्रयास गरेको छु।’

कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । सपुत चञ्चले युवक र अधिकारी लज्जालु युवतीका रुपमा म्युजिक भिडियोमा देखिएका छन्। गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसावले पनि सपुत सफल देखिनुभएको छ। भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन।

भाका नेपाल प्रालिद्वारा निर्मित गीतको म्युजिक भिडियोमा सपुतका आमाबुबा, भाइ र आफन्जनकोसमेत अभिनय देख्न पाइन्छ। यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बन्नुभएका सपुतले सामाजिक विषयवस्तुलाई सिर्जनामार्फत मुखरित गर्दै आउनुभएको छ। गत वर्ष सार्वजनिक ‘बोल माया’ विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत हो। विषयवस्तुको छनौट र प्रस्तुतीकरणमा ध्यान दिनसके सफल भइने पाठ आफूले सिकेको सपुतको भनाइ छ।

पछिल्लो समय लोकदोहोरी गीतले युट्युबमा राम्रो दर्शक पाउन थालेका छन्। गत असोजमा सार्वजनिक भएको लोकदोहोरी ‘सालको पातको टपरी’ चार करोड भन्दा बढी पटक हेरिएको छ । उक्त गीत नै युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो नेपाली लोकदोहोरी बन्न सफल भएको छ।

हेर्नुहोस भिडियो :