सन् २०२०लाई नेपाल सरकारले नेपाल भ्रमण बर्षका रुपमा मनाउने तयारी गरिरहेका बेला नेपाल सरकारले बिभिन्न कार्यक्रमहरुको तयारी गरिहेको छ। यसै सन्दर्भमा निजी क्षेत्रबाट नेपाल भ्रमण बर्षलाई ब्यापक बनाउन के गर्नुपर्दछ भनेर पर्यटन ब्यवसायी सुनिल भुषालसँग पूर्वी खबरले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल भ्रमण बर्षलाई सार्थक बनाउन एक नम्बर प्रदेशमा के के गर्न जरुरी देख्नुहुन्छ ?
नेपाल भ्रमण बर्ष २०२० मनाउने सरकारको मुल एवं राष्ट्रियको लक्ष्य छ यसलाई सार्थक बनाउन हामी सबै जुट्न जरुरी छ। नेपालमा सन् २०२०मा २०लाख पर्यटक भित्र्याउने यो महाअभियानमा सबै जुट्न अपरिहार्य छ। यसरी २०२०लाई नेपाल पर्यटन बर्षका रुपमा मनाउने साझा एजेण्डा आइरहँदा प्रदेश एकमा भारतसँग सिमाना जोडिएका नाकाहरुबाट उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सक्छौ। यसका लागि सबैजना आ–आफ्नो ठाँउबाट लाग्न जुट्न जरुरी छ।

त्योसँगसँगै होटल व्यवसायीले पनि सरकारको २०२०को लक्ष्यलाई मध्यनजर राख्दै आउने पाहुनालाई सम्मान, सत्कार गर्ने र पर्यटक भित्रने सबै नाकामा पर्यटक सुचना केन्द्र स्थापना गरेर आउने पर्यटकहरुलाई फुलमालाले स्वागत गर्ने र हाम्रो प्रदेशमा रहेका बिभिन्न धार्मिक देखि लिएर बिभिन्न खालका पर्यटकीय क्षेत्रमा गएर भ्रमण गर्नसक्ने उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ।

हामीले जति सक्दो धेरै पर्यटक भित्र्याउन जरुरी छ। यसको के फाइदा के छ भन्ने लाग्न सक्छ। हामीले धेरै पर्यटक भित्र्याउन सकेमा यहाँ धेरै होटल व्यवसाय चल्न सक्छन्। अहिलेको अवस्थामा हेर्दा पनि इटहरीमा धेरै होटल खुलिरहेका छन् तर आवश्यक मात्रामा पर्यटक आइरहेको अवस्था छैन।

इटहरीका राम्रा होटलहरुमा एकदिनमा बाहिरबाट आएर कम्तिमा हजार जना मानिस बस्नुपर्छ। अहिले दुई सय देखि तीन सय जना मात्र आएको अवस्था छ। यस्तो अवस्थामा सरकारले लिएको एजेण्डालाई बोकेर यो प्रदेशमा हामीले कम्तिमा ५ लाख पर्यटक भित्र्याउन सके यो प्रदेशले फड्को मार्छ। तर्सथ यो कसले किन ल्याएको भन्नुभन्दा पनि यो सबै व्यवसायीको हितमा आएको हुनाले सबै लाग्न जरुरी छ।

व्यावसायीले गर्ने कुरा त यहाँले भन्नुभयो नागरीकका तर्फबाट चाँहि के गर्न सकिन्छ ?
यहाँका नागरीकलाई सरकारको २० लाख पर्यटन भित्र्याउने लक्ष्य थाहा हुन जरुरी छ। आफ्नो गाँउ ठाँउ सम्पदाको ज्ञान हुनुपर्दछ। अन्य पर्यटकीय देशका नागरीकले जस्तै सोधेका ठाँउको बारेमा जानकारी दिनेमात्रै नभएर देखाउन सक्छ यो हामीमा पनि हुन जरुरी छ। हामीमा भारतीय पर्यटकलाई देखेपछि पैसा झार्नुपर्छ पैसा उठाउनुपर्छ भारतीय नागरीकलाई अपशब्द बोल्नुपर्छ भन्ने जुन धारणा छ यो हटाई जो सुकै भएपनि पर्यटक पर्यटक नै हुन भन्ने धारणा बिकास गर्न जरुरी छ। आम मानिसले सबैसँग असल व्यवहार गर्ने बानीको बिकास हुनुपर्छ।

सरकारले नेपाल पर्यटन बर्ष २०२० भनेर घोषणा गरिसकेको छ, शहर केन्द्रित कार्यक्रम भईरहेका छन् तर ग्रामिण भेगमा चाँहि पर्यटकीय आकर्षणका केन्द्र छन् त्यहाँ केहि कार्यक्रम पनि आएको देखिदैन यसका लागि के गर्न सकिन्छ ?

जुन राष्ट्रिय योजना छ यसमा यस प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका छन् त्यहाँ गएर पर्यटनको बारेमा जानकारीहरु दिने, चेतना फैलाउने, बजेट दिने साक्षरता कार्यक्रम सञ्चालन गर्ने र त्यहाँ नभएका कुरा एकैपटक बनाउन नसकिने हुँदा भएका कुरालाई चिटिक्क पारेर लान सकिन्छ।

बिशेष गरेर स्थानीय तहमा चेतना फैलाउदा पर्यटक आउँछन्। बिभिन्न ठाउँमा पर्यटक सुचना केन्द्र स्थापना गरेर त्यहाँ आएका पर्यटकहरुलाई गन्तव्य सम्म पुर्‍याउने व्यवस्था मिलाउनुपर्छ। यस अभियानमा नगरपालिका, गाउँपालिका तथा वडाहरु पनि लाग्न जरुरी हुन्छ। आ–आफ्नो स्तरबाट सबैजना लाग्नुपर्छ।

बिभिन्न गाँउहरुमा होमस्टे सञ्चालन भएका छन् जुन नाम मात्रका छन् जसले पर्यटक तान्न सकेका छैन्न, तिनीहरु प्रचारमा छैनन् यसलाई प्रभावकारी बनाउन के गर्न सकिन्छ ?
होमस्टे अहिलेको परिप्रेक्षमा एकदमै महत्वपूर्ण छ। हामी सहर केन्द्रित भएर ठुला होटल चलाइरहँदा गाँउमा भएका लोकल सम्पदा हेर्न जाने मान्छे कहाँ बस्ने भन्ने कुरामा उसले त्यहि बसेर अवलोकन गर्न सक्ने वातावरण आवश्यक छ जसको लागि होमस्टेहरुको व्यवस्था गाउँपालिकाले गर्नुपर्छ। पर्यटन वोर्डसँग बजेट मागेर त्यसको प्रवर्धन गर्नुपर्छ। आन्तरीक पर्यटकसँगै बाह्य पर्यटकलाई पनि लाने व्यवस्था गर्नुपर्छ। यसलाई प्रवर्धनकै जरुरी छ जुन स्थानीय तहबाटै गर्नुपर्छ। नाकामा स्वागत केन्द्र स्थापना गरेर आउने पर्यटकहरुलाई स्वागत गर्ने र उपर्युक्त व्यवस्थापन गर्नुपर्ने देखिन्छ। जोगवनिमा केन्द्र राखेर भेडेटार देखि नाम्चे सम्मको होमस्टेको प्रचार गर्न सक्नुपर्छ। प्रदेश एकमा आठहजार भन्दा धेरै उचाईका हिमाल छन् हलेसी, पाथिभरा जस्ता धार्मिक स्थलको प्रवर्धन गर्न सकिन्छ। यतिभए हामीले धेरै गर्नुपर्दैन।

संघीय सरकारले नेपाल पर्यटन बर्ष २०२० भनेर घोषणा गरेको छ तर प्रदेश सरकारले यसमा खासै चासो दिएको देखिदैन भनिन्छ नि तपाईलाई कस्तो लाग्छ ?

मलाई त्यस्तो लाग्दैन संघीय सरकारले पर्यटन बर्षको तयारीका लागि राखेको एउटा बैठकमा म पनि पुगेको थिए। त्यहाँ प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु आउनुभएको थियो त्यहाँ उहाँहरुले आम मानिसलाई अनुरोध गर्नुभयो, अझ हाम्रो मुख्यमन्त्री धेरै नै सकारात्मक हुनुहुन्छ। यो नेपाल पर्यटन बर्ष २०२० लाई कसरी सफल बनाउने भन्नेमा उहाँको ध्यान केन्द्रीत छ।

नेपालमा २०लाख पर्यटक आउनुभनेको एउटा मन्त्रीलाई मात्रै फाइदा हुने कुरा हैन यसले समग्र देश र जनताको हित हुने निश्चित छ। यो त हामी नेपालीले हरेक बर्ष मनाउनु पर्ने चाड जस्तै हो। यसलाई नकारात्मक रुपमा हेर्न हुदैन।

तपाई पर्यटन व्यावसायी पनि हुनुहुन्छ, भर्खरै पर्यटन मन्त्री नियुक्त हुनुभएको छ कतिको आशाबादी हुनुहुन्छ ?
उहाँ धेरै नै सक्षम मान्छे हो। मैले उहाँलाई राम्रोसँग चिनेको छु। उहाँ युवा र सकारात्मक सोचको धनि हुनुहुन्छ। यो सँगै उहाँमा युवाले अब नेपाललाई परिवर्तन गर्नुपर्छ भन्ने धारणा छ। उहाँलाई सबैले समर्थन गर्नुपर्छ। उहाँले धेरै गर्नुहुन्छ। उहाँको कार्यकालमा नेपाल वायु सेवा निगमले फड्को मार्ने देखि ठुला विमान स्थल बन्ने मलाई आशा छ। सबै कुरा नभए पनि धेरै कुराले फड्को मार्छ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
अन्त्यमा मेरो एउटै भनाई के छ भने हामीले करोडौ खर्च गरेर होटल तथा टुरिजम व्यवसाय खोलेका छौ। खोलेर मात्र हुदैन चलाउनुपर्छ। त्यसको लागि पर्यटन व्यावसायी एक ठाँउमा उभिएर काम गर्नुपर्छ। कुरा गरेर मात्रै काम हुदैन। तपाईको सानो मिठो बोलिमा पनि पर्यटन जोडिएको हुन्छ। तर्सथ सबै ठाँउमा पर्यटन जोडिएको हँुदा सरकारलाई यो अभियानमा सहयोग गर्नुपर्छ।
                                                                       ######### धन्यवाद ##############