सिन्धुपाल्चोक / कृषिमा आधुनिक प्रविधिको सुरुवात गर्ने उदेश्यले सुनकोशी गाउँपालिकाले वडाका किसानहरुलाई निःशुल्क हाते ट्याक्टर वितरण गर्न सुरु गरेको छ।

परम्परागत रुपमा खेती गर्दे आएका किसानहरुले खेतबारी जोत्न स्थानीय सरकारले निःशुल्क हाते ट्याक्टर प्रदान गरेपछि खुसी भएका छन्। सुनकोशी गाउँपालिका अन्तर्गत वडा नम्बर ६ थुम्पाखरले यो वर्ष वडाका १६ कृषि समुहलाई निःशुल्क हाते ट्याक्टर वितरण गरेको वडा अध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो।

गत वर्षदेखि सुरु भएको यो कार्यक्रम यस वर्ष पनि निरन्तरता गरिएको र आगामी वर्ष पनि हाते ट्याक्टर सहित अन्य कृषि उपकरण किसानहरुलाई वितरण गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो।

वडा कार्यालयमा आयोजीत कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) र वडा अध्यक्ष थापाले किसानहरुलाई ट्याक्टर वितरण गरेका थिए। वडाका १६ कृषक समुहका प्रतिनिधिहरुलाई ट्याक्टर प्रदान गरिएको थियो।

गाउँमा गोरु नपाउँने हुदा हाते ट्याक्टर पाएपछि काम गर्न सजिलो हुने हुदाँ आफुहरुलाई सजिलो हुने किसानहरुको भनाई छ।