गत आर्थिक बर्षमा बिराटनगरस्थित जोगवनी नाका भएर ३६ करोड ९३ लाखको आलु र गोलभेँडा भारतबाट आयात भएको छ। ३५ करोड ३६ लाख रुपैँया बराबरको आलु र एक करोड ५६ लाख रुपैँयाँको गोलभेँडा आयात भएको हो।

जोगवनी नाका भएर नेपाल भित्रिने आलु र गोलभेँडा मोरङ र सुनसरीलगायत पूर्वाञ्चलका विभिन्न बजारमा खपत हुने गरेको व्यवसायीहरुले बताएका छन्। खासगरी यस क्षेत्रमा दैनिक लाग्ने हटियामा भारतबाट आउने आलु र गोलभेँडा खपत हुने गर्दछ। भारतबाट आउने आलु र गोलभेँडा पूर्वाञ्चलको धनकुटा, तेह्रथुम, सङ्खुवासभा जस्ता पहाडी जिल्लाका सदरमुकाम समेत पुग्ने गरेको बिराटनगरका आलु व्यवसायी सुरज गुप्ताले जानकारी दिनुभयो।

यस क्षेत्रमा तरकारीका रुपमा दैनिक खपत हुने आलुको ७० प्रतिशत हिस्सा भारतलगायतका देशबाट आयातित आलुले धानेको र बाँकी ३० प्रतिशत हिस्सा स्वदेशी आलुले धान्ने गरेको व्यवसायीको दाबी छ। नेपालमा भारत पछि भुटान र बङ्गलादेशबाट पनि आलु भित्रिने गर्दछ।

नेपालमा उत्पादित आलुमध्ये मकवानपुरको आलु निकै स्वादिलो भएकाले बजारमा यसको निकै माग रहेको भएपनि यो आलु साउनसम्ममा सकिने व्यवसायीले बताएका छन्।

नेपालको पूर्वी पहाडी जिल्लामा उत्पादन हुने आलु निकै स्वादिलो रहेपनि यो महेन्द्र राजमार्ग आसपासकै बजारमा खपत हुने र बिराटनगरसम्म आइनपुग्ने अर्का व्यवसायी पशुपति भगतले जानकारी दिनुभयो। साउन अन्तिम सातादेखि नेपालमा भुटानको आलु भित्रने र यो कात्तिकसम्म चल्ने गरेको व्यवसायी बताउँछन्।

पूर्वका १६जिल्लामा ७० हजार ५२८ हेक्टरमा आलु खेती हुने र त्यसबाट नौ लाख ५१ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ। तर यो उत्पादन बजारमा हुने मागको तुलनामा निकै कम हुने व्यवसायीको भनाइ छ।
त्यस्तै दैनिक अचारका रुपमा प्रयोग हुने गोलभेँडाको उत्पादन पूर्वी पहाडी जिल्लामा निकै राम्रो रहेपनि यो मौसमी उत्पादन मात्र रहेकाले अन्य समयमा भारतीय गोलभेँडा नै खपत हुने गर्दछ।

नेपालमा उत्पादित गोलभेँडा तीन महिना मात्र बजारमा रहन्छ। बाँकी अवधिमा नेपाली उपभोक्ता भारतकै गोलभेँडामा निर्भर हुनुपर्ने बिराटनगरस्थित गुद्री बजारका गोलभेँडाका थोक बिक्रेता गौरीशंखर भगत बताउनुहुन्छ। नेपाली गोलभेँडा जेठदेखि भदौसम्म पाइने र असोजदेखि बैशाखको अवधि भारतीय गोलभेँडा नै ल्याउनुपर्ने बाध्यता रहेको भगतको भनाइ छ।

पूर्वाञ्चलमा पाँच हजार ७१८ हेक्टर क्षेत्रमा गोलभेँडाको खेती हुने र जसबाट बार्षिक एक लाख २९ हजार मेट्रिकटनभन्दा बढी गोलभेँडा उत्पादन हुने गरेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ।
                                                                          (रासस)