“प्रचण्ड : जनयुुद्धका नायक” पुस्तकको प्रकाशन पछि यसका लेखक रामप्रसाद खरेलको चर्चा राजनैतिक रुपमा पनि हुन थालेको छ। निबन्ध, कथा र कवितामा कलम चलाउने र मुलकर्म रेडियो पत्रकारिता गर्ने खरेललाई अहिले कतिले प्रचण्डसँग नजिक भएर राजनीतिमा माथि उक्लन खोजेको अर्थमा पनि बुझेका छन्। कतिले ऐतिहासिक काम भनेर प्रशंसा पनि गरेका छन्। यो आमभावनालाई समेटेर उहाँलाई पुस्तक केन्द्रित केही प्रश्नहरु सोधिएको छ। अहिलेसम्म खरेलका ५ पुस्तक प्रकाशित छन्। इटहरीलाई मुख्य कर्मथलो बनाएर पत्रकारिता र लेखनमा निरन्तर अघि बढिरहेका खरेलसँग पूर्वीखबरका सम्पादक/ प्रकाशक त्रिलोचन पौडेलले कुराकानी गर्नुभएको छ।

१) राजनीतिक शक्तिकेन्द्रको रुपमा रहेका पुष्पकमल दाहालकै बारेमा किन पुस्तक लेख्नुभयो ?
लेखकका आफ्नै रुचीका बिषय हुन्छन्। प्रचण्ड एक चासोको बिषय नै हो सबैका लागि। तपाईले नै भनिहाल्नुभयो राजनीतिक शक्तिकेन्द्र भनेर। साझा चासोको बिषयमा एउटा लेखकले झन् धेरै चासो राख्नुपर्छ। प्रचण्डका बिषयमा धेरै किताब लेखिनुपथ्र्यो अहिलेसम्म तर त्यो अवस्था देखिएन्। एकजना भारतीय लेखकले २०६५ मा एउटा पुस्तक लेखेका थिए प्रचण्डका बारेमा। दुखद पक्ष के हो भने नेपाली पत्रकार वा लेखकले प्रचण्डलाई किन हो पुस्तक लेखनको बिषय बनाएनन्। मैले कसैले लेख्ला भनेर धेरैबर्ष पर्खे तर कसैले लेखेन्। त्यसपछि यो काम मैले नै गर्नुपर्छ भन्ने लाग्यो र किताब लेखेँ। अझै प्रचण्डका बिषयमा धेरै किताब लेख्नुपर्छ बिभिन्न कोणबाट।

दोस्रो चै म जनयुद्धको इतिहासलाई एक फरक धारबाट लेखिरहेको छु। यहि इतिहास लेखनको क्रममा पहिले त प्रचण्डलाई बुझ्नुपर्‍यो। बुझ्दै जाँदा सोचे जनयुद्धको इतिहास लेखिसक्न समय धेरै लाग्छ। पहिले त्यो जनयुद्धलाई नेतृत्व गर्ने प्रचण्डको बारेमा नै लेख्छु। यो पुस्तक प्रचण्ड र नेपाली राजनीतिको बारेमा चासो राख्नेहरुका लागि मैले गरेको लगानी पनि हो।

२) दाहालसँग नजिकिनलाई उनको बर्णन गरेर राम खरेलले किताब लेख्यो भन्छन् नि बजारमा ? हो ?

बजारमा त जेपनि भन्छन्। यसमा मेरो भन्नु केही छैन्। यो किताब प्रचण्डको बर्णन होइन। भजनकिर्तन होइन। यो पुस्तक नेपाली राजनीतिको इतिहासको एक दस्तावेज हो। जो सबैका लागि निकै महत्वपूर्ण छ।

३) महत्वपूर्ण छ भन्नुभयो, के छ किताबमा त्यस्तो ?
किताबमा धेरै कुरा छन्। सबैकुरा कसरी भनौँ मैले यो छोटो कुराकानीमा। सबैकुरा बुझ्न किताब नै पढ्नुपर्छ। संक्षेपमा भन्दा जनयुद्धको बारेमा, प्रचण्डसँग सम्बन्धित कुरा, नेपाली कम्युनिष्ट आन्दोलनको बारेमा र बिभिन्न दस्तावेजहरु समेत संलग्न छ। यो पुस्तकको महत्व अहिलेभन्दा धेरै भविष्यमा हुनेछ। जतिवेला प्रचण्डको भौतिक शरिर हुँदैन् यो पुस्तकको झन खोजि हुन्छ।

जसले कुरै नबुझि यो पुस्तकको बिरोध गर्छ उसले पनि कुनैदिन यो पुस्तक खोजेर पढ्नुपर्छ। राजनीतिमा संलग्न त्यसमा पनि कम्युनिष्ट राजनीति गर्नेहरुले यो पुस्तक एकप्रति लिएर पढ्नु अनि जतन गरेर राख्नुपर्छ। थुप्रै कुराको श्रोत हुन्छ, राजनीतिकर्मीका लागि यो पुस्तक।

४) नयाँ चै के छ ?
इतिहास भनेकै पुरानो हो। त्यसैले इतिहास समेटेको पुस्तकमा त्यस्तो नयाँ के हुन्छ ? सबै त्यो समयमा भएका घटना र परिघटनाहरुको बिवरण नै हो इतिहास लेखन्। त्यो पनि दुईखाले हुन्छ पहिलो बिवरणात्मक दोश्रो बिश्लेषणात्मक। यो पुस्तक चै बिवरणात्मक हो। बिभिन्न रुपमा छरिएर रहेका बिषयबस्तुहरुलाई क्रमबद्ध रुपमा भाषाशैलि मिलाएर मैले एउटा सिंगो प्याकेज बनाएको छु।

५) नेकपाका दोश्रा अध्यक्ष दाहालको बारेमा किताव लेख्नुभयो ? किन केपि ओलिको बारेमा लेख्नुभएन ? देउवाको पनि त लेख्न सक्नुहुन्थ्यो नि ?
लेख्न त जसको पनि सकिन्छ। मानौँ मैले केपी ओलिको बारेमा लेखेको भएपनि तपाईले सोध्नुहुन्थ्यो किन प्रचण्डको बारेमा लेख्नुभएन् ? मैले शुरुमै पनि भने लेखकको पनि आफ्नै चासो र खोजको बिषय हुन्छ।

६) दाहालको बारेमा धेरैले आलोचना गर्छन ? हज्जारौँ मान्छे मारेर सत्तामा पुगेको भनेर आलोचना गर्छन ? यो बिषयमा चाँहि किन लेख्नुभएन ?
प्रचण्डको आलोचना हुन्छ भनेर मैले उहाँको बारेमा नलेख्ने भन्ने हुँदैन्। जिउँदो मान्छेको आलोचना हुन्छ नि। मलाई थाहा छ प्रचण्डको कति धेरै आलोचना हुन्छ भनेर। र यो पनि सत्य हो कि उहाँको त्यति नै धेरै प्रशंसापनि हुन्छ। यसैले मैले पुस्तकभित्र एउटा शिर्षक नै राखेको छु आलोचना र प्रशंसाको सिकार भन्ने।

दोश्रो युद्धमा हजारौ मान्छे मारिए भन्ने छ। यो प्रश्नको जवाफ मैले दिने होइन्। र पनि अलिकति भनौँ। जनयुद्ध एउटा राजनैतिक घटनाक्रम थियो। मुक्तिको लागि एउटा क्रान्ति थियो। यसका आफ्नै खाले राजनैतिक लक्ष्यहरु थिए। यसलाई राजनैतिक रुपमै बुझ्नुपर्छ। घोषित युद्धमा मान्छे मर्न सक्छन्, मर्छन्। यसो भन्दैमा युद्धमा सहभागि नभएकाहरुलाई मार्न पाईदैन्। जनयुद्धका क्रममा राज्य तथा बिद्रोही पक्षका तर्फबाट कतिपय युद्ध अपराधहरु पनि भएका होलान्। यसैले शान्ति सम्झौता भएपछि त्यसलाई हल गर्न सत्य निरुपण आयोग गठन गरिएको छ। युद्ध नै भएपनि यदि कसैले त्योबेला युद्ध अपराध गरेको रहेछभने प्रचलित कानुन बमोजिम कार्वाही हुनुपर्छ।

७) जनयुद्दका नायक प्रचण्ड भन्ने पुस्तक राजनीति केन्द्रित हो ? साहित्यिक मान्छे राजनीतिमा माथी उक्लन दाहालको दौराको फेरो समाउन खोज्नुभएको हो ?
साहित्य लेख्नेले राजनीति लेख्नुहुँदैन् भन्ने छ र ? सक्दा जुन क्षेत्रमा कलम चलाएपनि हुन्छ। फेरि साहित्य लेख्नुभनेको पनि अप्रत्यक्ष रुपमा राजनीति लेख्नु नै हो। मैले प्रचण्डको दौराको फेरो किन समाउँनु ? राजनीतिमा कता उक्लनु छ र मैले ? उक्लनु नै भएपनि राजनीतिमा माथि उक्लन नेताको होइन् जनताको फेरो चाँहि समाउँनुपर्छ। मैले कसैसँग कुनै व्यक्तिगत स्वार्थ र प्राप्तीको लागि लेखनकर्म रोजेको होइन्। लेख्नु, बोल्नु मेरो कर्म हो जुन म निरन्तर गरिरहेको छु र गर्छु।

८) पुस्तकको नाममै बिवाद देखिएको छ नि ?कसरी राख्नुभयो प्रचण्ड : जनयुद्धका नायक ?
हेर्नुहोस् बिवादरहित कुरा केही पनि हुँदैन्। जनयुद्धको नेतृत्व कसले गर्‍यो ? जनयुद्धको सपना कसको थियो ? प्रचण्डले गर्नुभएको हो कि अरुले ? यी प्रश्नको जवाफ के आउँछ ? प्रचण्ड नै हो नि ? अनि प्रचण्डलाई जनयुद्धका नायक नभनेर कसलाई भन्नु ?

९) यो पुस्तकका बारेमा सामाजिक सञ्जालमा धेरै चर्चा छ तर सामाजिक सञ्जालमा जसले राखेपनि अधिकाशं प्रतिक्रिया नकारात्मक देखिन्छ। यसलाई कसरी लिनुभएको छ ?
बिरोधका लागि बिरोध गर्नु हाम्रो समाजको एउटा बानी नै बनिसकेको छ। समर्थन गर्ने जतिकै स्वतन्त्रता बिरोध गर्नलाई पनि छ। नेतृत्वको बिरोध, समर्थन वा मौन यो बैज्ञानिक नियम नै हो राजनीतिमा। अर्को पक्ष चै प्रचण्डसँग आम नेपालीको धेरै नै अपेक्षा थियो जुन पुरा भएको छैन्। यसले आम मानिसमा निराशा मात्र होइन आक्रोसपनि उत्पन्न भएको छ। यसैकारण अलिक बढी बिरोध भइरहेको छ।

१०) दाहालको बारेमा अझै अरुपनि किताब लेख्नुहुन्छ ?
हेर्दै जाउँ। मैले नलेखेपनि, लेखेपनि बिस्तारै प्रचण्डको बारेमा धेरै किताब लेखिनेछन्।

११) अनि जनयुद्धको इतिहास चै कहिले आउँछ ?
समय लाग्छ। यो अलिक फराकिलो बिषय हो। दुईतीन बर्ष सम्ममा लेखिसक्छु। मैले अलिक फरक धारबाट अनि धेरै बिषयलाई पुस्तकमा समेट्ने प्रयास गरेको छु।

१२) किताब लेखेर प्रचण्डबाट के पाउँनुभयो ?
मानिसहरुमा नकारात्मक सोच नै पहिले आइहाल्छ। मैले प्रचण्डबाट केही पाउँन किताब लेखेको होइन्। प्रचण्ड भनेको नीजि व्यक्ति होइन नि कसैको। एउटा बिचारलाई बोकेर त्यसमा आवद्ध हुनेहरुको नेतृत्व हो। त्यसैले नेतृत्व व्यक्तिभन्दा धेर संस्था हुन्छ। त्यो वैचारिक र सांगठनिक संस्था हो। मैले पहिले नै भनिसकेको छु यो किताब भनेको मैले प्रचण्ड र राजनीतिको बारेमा चासो राख्नेहरुका लागि गरेको लगानि हो।

१३) दाहालको बारेमा किताब लेखेपछि तपाईको बारेमा पनि फरक धारणा बनायो नि समाजले ? घाटा भएन तपाइलाई ?
धारणाहरु बन्दै गर्छन्, भत्किदै गर्छन् जबसम्म निचोडमा पुगिदैन्। एउटा असल लेखकलाई घाटानाफाको कुरा हुँदैन्। समाज बर्गिय छ, समाजमा मान्छेहरुको इन्ट्रेष्टहरु फरकफरक छन्। आफू अनुकुलको व्याख्या, बिश्लेषण गर्छन्। यो किताब लेखेका कारण नराम्रो फरक धारणा बनेको छैन् जस्तो लाग्छ। यदि बनेकै रहेछ भनेपनि म के गर्न सक्छु र !