काठमाण्डाै / मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्रका तीन–तीन जना खेलाडी प्रतिबन्धमा परेका छन्।

मनाङका जगजित श्रेष्ठ, अशाेक बराल र रञ्जन विष्ट तथा मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल प्रतिबन्धमा परेका हुन्। अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) काे अनुशासन कमिटीले मनाङ र मछिन्द्रका खेलाडीलाई आर्थिक जरिबानासहित प्रतिबन्ध लगाएको हाे।

एन्फाका अनुसार मनाङका जगजित श्रेष्ठलाई ५ खेलको प्रतिबन्धसहित १० हजार रुपैयाँ जरिबाना गरिएको छ। मनाङकै अशोक बराललाई ६ खेलसहित १० हजार रुपैयाँ जरिबाना गरिएको छ। उनले खेलमा राताे कार्ड पनि पाएका थिए। मनाङकै रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध गरिएको छ।

अफिसियलतर्फ मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमा प्रतिबन्ध गर्दै १० हजार रुपैयाँ जरिबाना गरिएको एन्फाले जनाएकाे छ।

मछिन्द्र क्लबका दिपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई एन्फाले समान दुई–दुई खेलमा प्रतिबन्ध लगाएकाे छ। एन्फाले दुवै क्लबलाई समान ५०–५० हजार रुपैयाँ जरिबाना गरेकाे हाे। 

मनाङ र मच्छिन्द्रबीचकाे गएकाे मङ्गलबार भएकाे तनावपूर्ण खेलमा दुई टिमका खेलाडीबीच हातपात नै भएकाे थियाे। दुवै टिमले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेका थिए।