इटहरी/ बैशाख २३ गते बिहिबार अनुहार र टाउकोमा चोट भएका एक यूवा इटहरी ६ स्थित ट्याङ्ग्रा खोला किनारमा मृत फेला परे। प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा भारी बस्तुले प्रहार गरी हत्या गरिएको आशंका गर्‍यो।

खोला किनारमा पहिचान नखुलेका २८-३०बर्षको जस्तो देखिने शव फेला पारेपछि प्रहरीले शवको प्रकृति हेर्दा हत्या हुनसक्ने र घटनामा ईटा वा ढुङ्गा प्रहार गरेको अड्कल गरेको प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिनुभयो।

मृतकको शव नजिकै अस्थायी बसोबासको लागि बनाइएको पाल र बोरा समेत भेटिएपछि प्रहरीले मृतक सडक आश्रित हुनसक्ने अनुमान गरेको थियो। त्यसपछि प्रहरीले शवलाई पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठायो। त्यसपछि प्रहरीले घटनाको बिषयमा अनुसन्धान अघि बढाएको थियो।

यसरी पुग्यो प्रहरी हत्यामा संलग्न सम्म
मृतक भेटिएको ठाउँमा अन्य सडक मानवहरु पनि बसोबास गर्ने गरेको र मृतक पनि सडक मानव भएको निष्कर्श निकालेपछि प्रहरीको शंकाको सुई सडक मानवहरु तर्फ सोझियो।

प्रहरीले मृतक भेटिएको ठाउँको आसपासमा बसोबास गर्नेहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउँदा सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ४ घर भई इटहरी ६बस्ने २४ बर्षीय प्रकाश तामाङलाई शंकाष्पद अवस्थामा फेला पार्‍यो। तामाङको खुट्टामा रगत लत्पतिएको जीउ तिरपनि रगत भेटिएपछि सोधपुक्ष गर्दा हत्या स्विकार गरे।

२२ गते सँगै एउटै होटलमा रक्सि पिएका दुवैजना यसअघि सँगै जेल परेका जेलमा नै चीनजान भएको खुलेको छ। रक्सि सँगै पिएका उनिहरु आपसमा विवादका क्रममा तामाङले मृतकलाई इटाले प्रहार गरेका र चोटका कारण ज्यान गएको प्रहरीको भनाई छ।

तामाङलाई बिहिबार नै साढे तीन बजेतिर इटहरी ६स्थित धरान होटल एण्ड सेकुवा कर्नरको छेउमा बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरी रहेको प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो।

मृतकको पहिचान अझै खुलेको छैन : प्रहरी
मृतकको हातमा दुखी राई लेखिएको ट्याटु खोपिएको पाईपनि मृतकको घर कहाँ हो हाल सम्म खुलेको छैन। कोहि आफन्त हालसम्म सम्पर्कमा आएका छैनन्।

प्रहरी नायव उपरीक्षक केसी आफ्नो जागिरे जीवनमा यस्ता तीनवटा घटनाको अनुसन्धान गरेको बताउँनुहुँदै भन्नुहुन्छ ‘मृतकको पहिचान भएको छैन, हत्यामा संलग्न पक्राउ परिसक्यो’। ‘यसअघि पनि यस्ता दुईवटा घटनाको अनुसन्धान गरिसकेको थिएँ, मृतकको पहिचान नभएको तर हत्यामा संलग्न पक्राउ गरेको’।

छोड्दैन प्रहरीले आफ्नो कर्तब्य पालना गर्न
खोला किनारमा नाम थर वतन नखुलेको ब्यक्ति मृत भेटिएपछि धेरैले आशंका भनेका थिए कुकुर मराई भयो त्यो मानिसको। कोहि नभएको त्यो मानिसको कस्ले खोजी गर्छ र अव मर्‍यो सकियो भनेर। एक ब्यक्तिले त सार्वजनिक भएको समाचारमा कमेन्ट नै गरेका थिए। गरिव मर्‍यो अव कसले हेर्छ प्रहरीले पनि लाश उठायो सक्यो, एकदुई दिन अनुसन्धान गरेजस्तो गर्छ छोड्छ भनेर।

तर इटहरी प्रहरीले घटना भएको १२घण्टा नबित्दै हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरिसकेको छ। यसबाट के प्रष्ट हुन्छ भने प्रहरीले आफ्नो कर्तब्य पुरा गरिनैरहेको हुन्छ, उसलाई काम गर्न कसैले दवाव दिनुपर्दैन।

धनि मर्दा मात्र प्रहरीले हेर्छ गरिव मर्दा कसैले वास्ता गर्दैन हैन प्रहरीले आफ्नो कर्तब्य हरेक क्षण पुरा गरिरहेको हुन्छ भनेर यो घटनाबाट प्रष्ट भएको छ।