गच्छदार कमजोर बनेका बेला भगवती आक्रामक सुनसरीको सत्ता परिवर्तनको सम्भावना

  • न्युजडेस्क
  • प्रकाशित मिति: कार्तिक २९, २०७९

विराटनगर/  विजयकुमार गच्छदारसँग तेस्रो पटक चुनावमा भिड्दै गरेकी भगवती चौधरी सामाजिक क्षेत्रबाट उदाएकी महिला नेतृ हुन् । बर्गीय, क्षेत्रीय र लैँगिक आन्दोलनमा अग्रमोर्चामा रहेकी चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् । नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार चौधरीलाई स्थानीयहरुले महिला आन्दोलनको अगुवा र महिलालाई आत्मनिर्भर बनाउने भिजनरी महिलाका रुपमा चिन्ने गर्छन् ।

फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष रहेकी चौधरीले सुनसरीमा मात्र होइन देशका ४० जिल्लाका तीन लाख बढि महिलालाई आत्मनिर्भर बनाउने काममा भुमिका खेलेकी छिन्। आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उद्यमी बनाउन प्रशिक्षण दिएर त्यसका आधारमा बिउ पुँजी उपलब्ध गराइ आयआर्जनमा सक्रिय बनाउने अभियान स्वरुप फरवर्ड सुरु गरिएको बताउँदै उनी भन्छिन्, ‘सुनसरीमा मात्र हैन, देशका ४० बढी जिल्लामा फरवर्डले काम गर्दै आएको छ, यो मुलुकको अग्रणी माइक्रोफाइनान्सको रुपमा चिनिन्छ ।’

न्याय माग्दै चुनावी मोर्चामा चौधरी 
नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसँग यसअघि दुई पटक चुनाव लडिसकेकी चौधरीका अनुसार दुवै चुनावमा गच्छदारले जालझेल गरेर जितेका थिए।दोस्रो संविधानसभा निर्वाचन २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ मा गच्छदारले झिनो मतान्तरले बाजी मारेका थिए । हार्दा हार्दैको चुनाव गच्छदारले प्रहरी परिचालन गरेर मतगणना समेत रोकी जितेको चौधरीको आरोप छ । उनले यसै विषयमा निर्वाचन आयोगमा उजुरीसमेत दिएकी थिइन् । तर अर्को चुनाव आउन लाग्दा पनि त्यो उजुरीको टुंगो लागेको छैन।

तर यो पटक चौधरी उच्च मनोबलको अवस्थामा छिन् भने गच्छदार कमजोर मानस्थितीमा छन्। चौधरीले राजनीतिक रुपमा उचाइ बढाइरहेकी छन् भने भ्रष्टाचार मुद्दाका आरोपी गच्छदारको राजनीतिक कद क्रमशः घट्दो छ। २०७४ सालमा चौधरीलाई सहयोग गरेको नेकपा माओवादी केन्द्रले यो पटक गच्छदारलाई सहयोग गरेको छ तर पनि स्थानीयहरु भने यो पटक गच्छदारलाई भोट नदिने पक्षमा छन् । अधिकांश मानिसहरु परिवर्तनको पक्षमा उभिएका छन्।

पटक पटक उपप्रधानमन्त्री र विभिन्न मन्त्री बनिसकेका गच्छदारले आफ्नो गृह जिल्लाको विकासमा खास योगदान गर्न सकेका छैनन् । सबै कामहरु गाउँपालिका अध्यक्ष वा मेयर स्तरले गर्ने कामहरु मात्र भएका छन् । कुनै महत्वकांक्षी परियोजनासमेत सञ्चालन गरिएका छैनन् । यस्तै भ्रष्टाचार मुद्धा लागेका गच्छदारले जितेपछि संसद जान नपाउने अवस्था छ । त्यसैले उनको मनोबल यो पटक कमजोर छ।

यता चौधरी भने राजनीतिक उचाइ चढ्दै गएकी छिन्। गच्छदारसँग पहिलो पटक प्रतिस्पर्धा गर्दा भगवती चौधरी एमालेको जिल्ला स्तरको नेता थिइन् । हाल उनी केन्द्रीय सदस्य भइसकेकी छन् । उनले जितेर एमालेको सरकार बन्ने अवस्था आएमा उनले मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना उच्च रहेको एमालेको राजनीतिक वृत्तमा चर्चा सुनिन्छ।

यस्ता छन् चौधरीका एजेन्डा 
सुनसरी क्षेत्र नम्बर ३ मा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले आफ्नो एजेण्डा सार्वजनिक गरेकी छिन् । विभिन्न बुँदागत रुपमा एजेण्डा प्रस्तुत गरेकी चौधरीले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी छिन्। राजनितीमा लाग्नु अगावै आम सर्वसाधरणलाई उद्यमशिल बनाउन लागि परेकी चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना बनाउने बताएकी छिन् । त्यसका लागि गाउँघरमै प्राविधिक शिक्षालय स्थपनामा पहल गर्ने बताएकी छिन्।

महिलालाई आत्मनिर्भर,स्वरोजगार बनाउन जोड दिएकी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न विशेष पहल गर्ने बताएकी छिन् । चौधरीले एक गाउँ एक उद्योग स्थापनालाई विशेष जोड दिएकी छिन्। पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनका लागि रिङ रोडको अवधारणा कार्यान्वयन गर्ने बताएकी छिन् । गाउँलाई शहर र शहरलाई व्यवस्थित गर्न उनले विषेश जोड दिने भएकी छिन्।

अब्यबस्थित बसोबासलाई ब्यवस्थित गर्नुको साथै भुमिहिन नागरिकलाई सम्मान र समाजिक सुरक्षा कार्यान्वयनमा जोड दिने भएकी छिन् । तिनै तहका सरकारसंग समन्वय गरेर क्षेत्रको विकासमा विशेष जोड दिने योजनामा रहेकी चौधरीले खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन र सम्मान गर्ने जनाएकी छिन् ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2022 - Purbikhabar.com All rights reserved