इटहरी/ कबि शिरोमणी लेखनाथ पौडेलकै जस्तो देखिने लामा लामा सेता दाहृी, मुस्कुराई रहने गोरो अनुहार,चिटिक्क परेको ढाका टोपिमा सजिएर हिडने ब्यक्तित्व लेखनाथ घिमिरे । ब्यक्ति एक,अनेक आयाम । शिक्षा र समाजसेवा र साहित्यिक पत्रकारिताका त्रिवेणी इटहरीका सामाजिक व्यक्तित्व लेखनाथ घिमिरेको माघ २७ गते रथारोहण सहित भब्य नागरिक अभिनन्दन गरिदै छ ।

घिमिरेकै उचाई बराबरको ताम्रपत्र प्रदान गरेर अभिनन्द गरिने लेखनाथ घिमिरे नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए । निर्वाचन आयोगका प्रमुक्त आयुक्त तथा गीतकार दिनेश थपलियाको प्रमुख आतिथ्यतामा जनता माविको खेलमैदानमा अभिनन्द कार्यक्रम हुनेछ ।

कार्यक्रममा प्रदेश १ का सवै जिल्लाबाट, अन्य प्रदेशका २५ जिल्ला बाट र भारतको बिभिन्न प्रदेश बाट २२ जनाको सहभागिता रहने छ । यसै सन्दर्भ पारेर पत्रकार लिलाराज भटटराईले उहाँको जीवनका अनुभबलाई शब्दचित्रमा उर्ताने कोशिष गरेका छन् ।

२००२ साल माघ २७ गते कान्छाछोराको रुपमा लेखनाथ घिमिरेको जन्म ताप्लेजुङ्ग जिल्ला साविकको साँघु गाविस ताम्राङमा भएको हो । कान्छोछोरा भएकाले उहाँले तीन बर्ष सम्म आमाको दुध खान छोडनुभएन । आमाले गोवरले लिपेको भूँईकोटयाउदै दल्दै गरेर दुध छुटाउन खोजेको स्मृति लेखनाथ सरलाई अहिलेसम्म पनि ताजै छ ।

दुध छुटाउन माल्दाजुले गोठमा सुताउन लगेको र दाजुसँग सुतेर बिहान उठदा त ठूलै मान्छे भएछु कि भन्ने लागेको बेला उहाँ त्यस्तै चार साढे चार बर्षको हुनुहुन्थ्यो । उहाँका बुवा पढेलेखेको हुनुहुन्थ्यो । ठूल्दाजु माल्दाजु ज्योतिष हुनुहुँन्थ्यो । उहाँलाई दाजुहरुलेनै अक्षराम्भ गराउनुभयो ।

बाल्यकालमा भालुवाँसको खपडामा र काठको पाटीमा माटोराखेर बाँसको डिक बनाएर लेखेको झल्झली सम्झना छ उहाँलाई । कान्छाकाका धर्मानन्दले घरैमा गुरुकुल स्कुल खोल्नुभएको थियो । पढन गयो,बेलुका उतै बस्यो । बिहानै उठेर अनिवार्य नुहाउनु पर्ने,ताम्राङको जाडो पानी छुनै नसकिने । तर लगौटी अनिवार्य सुकाएकै हुनुपर्ने । उहाँहरुले उपाय निकाल्नुभयो गोगनेधारामा गयो मुख चाँही धोयो,लगौटी निकालेर पानीमा चोबल्यो लगेर सुकायो । सम्झयो कि आँखामा आँसु आइहाल्ने ।

बच्चा बेलामा घिमिरे आमा सँग मावली तेहृथुमको मोराहाङ्ग जानुभएको थियो । त्यहाँ बनारस बाट शास्त्री पास गरेर आएका एक जना गुरु रहेछन । आमाले त उहाँलाई तिनै गुरुलाई मेरो छोरो पनि पढाइदिनु भनेर छोडेर पो घर जानुभयो । उतिखेर त आमाले छोडदा निको लागेको थिएन । तर अहिले त्यो बेला सम्झदा पनि लेखनाथ सरका आँखा रसाउछन । उ वेला पनि आमामा पढाई सम्वन्धि उच्च चेत रहेको कुराले लेखनाथ सरलाई भावुक बनाउछ ।

१५ बर्षकै उमेरमा घरमै पुराण बाचन

लेखनाथ सरलाई उहाँका बुवाआमाले पण्डित बनाउन चाहनुभएको थियो । छोराले घरमा पुराण बाचन गरोस भन्ने चाहना थियो । उहाँले १५ बर्षकै उमेरमा घरमा ब्यासासनमा चढेर पुराण बाचन गर्नुभयो । कान्छाछोराले पुराण बाचन गरोस भन्ने बुबाआमाको इच्छा पूरा भयो । त्यसपछि उहाँलाई एकाहा पुराण बाचन गर्न र अन्य धार्मिक कार्यहरुमा बोलाउन थाले । गाईको पाइलो जस्तो टुप्पी पालेको पण्डितको अनुभूती उहाँले त्यहि बेला लिन पाउनुभयो ।

जव गाईको पाइला जत्रो टुप्पी काटियो

सिक्किम चीन र भारतको वोर्डरमा छ दार्जेलिडको लिङसे भन्ने ठाँउ । १७ बर्षको उमेरमा उमानाथ दाहाल सँग उहाँ त्यहाँ रहेको सँस्कृत महाबिद्यालयमा अध्यनका लागि पुग्नुभयो । त्यो बेला सम्म उहाँले धोती नफेरी खानुभएकै थिएन । त्यहाँ त धोती नफेरी पो खानु पर्दो रहेछ । एक दिन उहाँलाई निक्कै ज्वरो आयो । धाईआमाले हेरबिचार गर्नुभयो । उहाँको जन्मदै देखिको कपाल राखेर ठूलो टुप्पी थियो । त्यहि टुप्पीका कारण पनि ज्वरो आएको हुन सक्छ भनेर टुप्पी काटन लगाइयो । सानो टुप्पी राखेर काटियो। पछि पो उहाँलाई थाहा भयो अलि आधुनिक बनाएका रहेछन ।

फुर्केर रातभर नसुतेको क्षण

लिङसेमा तीन महिना जति पढेर बनारस जानुभयो । बनारसमा बैजनाथ भट्टराई गुरुका जेठ्ठा छोरा विश्वनाथ गुरु (जसले वाराणशी विश्वविद्यालय बाट स्वर्णपदक पाउनुभएको थियो ) बनारसमै पढाउनुहुन्थ्यो । लेखनाथ सरले गुरु नानक सँस्कृत महाबिद्यालयमा प्रथमामा (अहिलेको कक्षा आठमा) भर्ना भएर पढन थाल्नुभयो ।

त्यति बेला कक्षा ८ बिद्यालयस्तरको नभई विश्वविद्यालय स्तरको थियो । उहाँ प्रथमाको परीक्षा दिएर घर साँघु फर्कनुभयो । साउन महिनाको बेला थियो एउटा चिठ्ठी आयो । दुई महिना पछि बनारसबाट चिठ्ठी आइपुगेको थियो । उहाँ सँग नेपाल बाट पढन गएका सवै पाँच जना फेल भएछन उहाँ चाँही पास । पास भएको खवर थाहा पाएपछि त्यो रात उहाँ निदाउनै सक्नुभएन । फुर्किएर रात ननिदाई कटयो ।

७५ रुपियाँका लागि किर्ते चिठ्ठी बनाएर पढन बनारस

त्यसपछि ताप्लेजुङ्गकै मेदिवुङ्गस्थित बालसुवोधिनी स्कुलमा पूर्वमध्यमा पढन थाल्नुभयो । मन भने बनारसमै थियो । लेखनाथ सरले हर्रावोटे पण्डितका छोरा नारायण गौतमलाई बनारस पढन जानका लागि फकाउनुभयो । उहाँ जान पनि तयार हुनुभयो तर खर्च थिएन । किर्ते चिठ्ठी तयार पारियो गँगाधर मारवाडीलाई हर्रावोटे पण्डितले लेखेको भनेर । चिठ्ठीमा मेरो माइलो छोरो आएको छ । उसलाई ७५ रुपिँया दिनुहोला भनेर लेखिएको थियो । मारवाडीले चिठ्ठी हेरेपछि ७५ रुपियाँ नारायण गौतमलाई दियो,लेखनाथ सर साक्षी बस्नुभयो । पूनः बनारस जानुभयो । लेखनाथ सरले पूर्वमध्यमा प्रथम श्रेणीमा पास गर्नुभयो ।

इटहरीको वाघझोडामा बाघ कराँउथ्यो

साँघुकै खेमराज निरौला इटहरीको बौकामा आएर बसोबास गरेकाले लेखनाथ सरको परिवार पनि २०२१ सालमा बौका आउनुभयो । बौकामा त जंगलै थियो । इटहरी चौकमा उत्तरपट्टि टायलको छानो भएको अग्लो चार तले काठको घर थियो । महेश्वर सुब्बाको त्यो घर बाहेक अरु सवै घर फुसको छानो भएका थिए । सुब्बा ताप्लेजुडबाट आएर झोडा फाडनुभएको थियो । उहाँको नाममा महेश्वर झोडा छ । उहाँसँग भेटेर लेखनाथ सरको परिवारले चार बिगाह जग्गा लिनुभयो । इटहरीको पहिलो स्कुल सरस्वती मावि गैसारमा थियो । बजारमा जनता मावि थियो । इटहरीको अहिले आइतवारे भनिने ठाँउलाई बाघझोडा भनिन्थ्यो । त्यहाँ दिउसै बाघ कराउथ्यो रे । तर लेखनाथ सरले बाघ कराएको भने सुन्नुभएन ।

बौकामा बाँदर झुक्याउनः बाहिर परालनै हुने भित्र बाली पसाउने गमडि धान

इटहरीको गैसारमा चौधरीका घरहरु थिए । पान्धारे मास्तिर पनि झुरुम्म चौधरीका घर थिए ।भौतिक बिकास केहि पनि थिएन । बौका देखि इटहरी आउन खोलो तरेर आउनुपथ्र्यो । वडा नम्वर ३ मा भुल्केकुवा बाट पानी ओसारेर खानु पथ्र्यो । टयूवेल त कसै कसैका घरमा मात्र थिए । त्यो बेला इटहरीको मुख्य नगदेबाली पटुवा थियो । पटुवा बेचेर बर्षभरीको गुजारा गर्थे कृषकहरु । वडा नम्वर ३ मा बाँदरले बालीनाली केहि नराख्ने । अहिलेको जस्तो धान हुदैनथ्यो । गमडि जातको धान खेति गरिन्थ्यो । गमडि धानको बाला बाहिर देखिदैनथ्यो । बाहिर परालै हुन्थ्यो । भित्र बालो हुने, नपसाइन पाक्थ्यो गमडि धान ।

छात्रवृतिको नाम हण्डि

लेखनाथ सरले २०२३ सालमा धरानको पिण्डेश्वर विद्यापिठमा साहित्य तर्फ उत्तरमध्यमा पढनुभयो । इटहरी देखि गमडि धानको चामल लगेर खानुहुन्थ्यो । २०२४ सालदेखि भने नम्वरी हुनुभयो । उहाँको नम्वर १९ । नम्बरी भनेको छात्रवृति पाएको बिद्यार्थी । खानाका लागि चामल,मट्टितेल,नुन,तेल,दुघ सवै पाइन्थ्यो । त्यसलाई हेला गरेर हण्डि भन्थे । हण्डिमा दिने भएकाले हण्डि भनेका हुन ।काठमाडौमा हण्डि भन्दारहेछन,धरानमा पनि हण्डिखाने भन्थे ।

कम्युनिष्टलाई खरानी र काँग्रैसलाई गोव्रे

धरानमा पढदा लेखनाथ सरमा राजनीतिक चेत वढयो ।हुन त बनारस पढदा पनि अलि अलि राजनीतिक चेत नभएको होइन । त्यहाँ उहाँको एक पटक पुष्पलाल सँग पनि भेट भएको थियो । तर खासै चिनजान र कुराकानी भएको भने होइन । धरानमा पहाडतिर बाट पढन आएका चिनेजानेका कम्युनिष्ट रहेछन । पदम बराल,देवी काफलेहरु अग्रज बामपन्थी थिए । धनकुटाका गोपाल गुराँगाई साथी हुनुहुन्थ्यो । धरानमा काँग्रेस पनि थिए । पञ्चायतले काँग्रेस र कम्युनिष्टलाई लडाएर रमिता हेथ्र्यो देशैभर । त्यो बेला धरानमा कम्युनिष्टलाई खरानी र काँग्रैसलाई गोव्रे भन्थे ।

छ सय बिद्यार्थी अघिपछि लागेर उर्लावारी सम्म आएर रुदै रुदै बिदाइ

२०२६ सालमा सरस्वती मावि इटहरीको स्थापना गरियो । सरस्वती स्कुल स्थापनामा लेखनाथ सरको योगदान छ । उहाँले त्यहाँ केहि समय पढाउनुभयो । उहाँले २०२६ सालमै शास्त्री पास गर्नुभयो । २०२७ सालमा जनता स्कुलमा पढाउनुभयो । २०२८ साल भदौ ११ गते देखि मावि शिक्षक स्थायी नियुक्त भएर मधुमल्लाको मनोहर जनता माविमा जानुभयो । त्यहाँ उहाँले अभिब्यक्ति नामक मुखपत्र निकाल्नुभयो । अभिब्यक्तिको दोश्रो अंक पोहोर साल मात्र निकालेका छन । मधुमल्लामा लेखनाथ वाचनालय थियो ।

खासै चलेको थिएन । लेखनाथ सरले सुचारु गराउनुभयो । लेखनाथ सरकै नाममा बाचनालय भन्थे तर लेखनाथ पौडयालको नामको थियो । २०३५ साल चैतमा उहाँको शारदा माबि खनार सरुवा भयो । लेखनाथ सरको सरुवा भएको खवर सुनेर बिद्यार्थीहरु त रुन पो थाले । बिदाईको दिन ६ सय बिद्यार्थी र अविभावक रुदै रुदै उर्लाबारी सम्म आएर लेखनाथ सरलाई बिदा गरे, केहि त इटहरी सम्मै आए । उहाँले पनि आँशु थाम्न सक्नुभएन । लेखनाथ सर लाजले १५ बर्षसम्म मधुमल्ला जानुभएन । ६ महिना सम्म त दिनको ४० वटा सम्म पत्रहरु आउथ्यो । खनारका मान्छेहरु छक्क पर्थे मधुमल्लाका बिद्यार्थीहरुले लेखनाथ सरलाई औधी मायाँ गरेको देखेर ।

शिक्षण पेशा जस्तो आनन्द हरुमा छैन

लेखनाथ सरले ३१ बर्षसम्म बिभिन्न स्कुलहरुमा अध्यापन गराउनुभयो । सुनसरी बहुमुखी क्याम्पस इनरुवा र जनता क्याम्पस इटहरीमा १५ बर्ष सम्म सेवा गर्नुभयो । इटहरीकै चर्चित बिश्व आदर्श कलेजको नेतृत्व गरिरहनुभएको छ । लेखनाथ सर भन्नुहुन्छ “शिक्षण पेशा जस्तो अन्यमा आनन्द छैन । ” उहाँले चाहनुभएको भए लोकसेवा भिडेर अफिसर बन्न सक्नुहुन्थ्यो । तर उहाँले शिक्षा क्षेत्रमै जीवन समर्पित गर्नुभयो ।

हलेसी पुग्यो म त बंैक को मेनेजर सरको विद्यार्थी भन्दै नमस्कार गर्दै पहिला पढाएका बिद्यार्थी आइपुग्छन । जहाँ गए पनि कोही न कोही आफूले पढाएको बिद्यार्थी भेटिन्छन झुम्मिन्छ,उहाँको मन आनन्दित हुन्छ । उदण्ड बिद्यार्थीलाई पनि आग्रह नराखी पढाउने हो भने त्यो भन्दा राम्रो बिद्यार्थी कोही नहुने उहाँको अनूभूती छ । कहिले काँही बिद्यार्थीले अभद्र ब्यवहार समेत गर्छन तर उहाँले कलेजका सरहरुलाई भन्ने गर्नुभएको छ परीक्षामा कुनै पनि आग्रह नराखी कपि हेरेर नम्वर दिनुहोस ।

भौतिकबादी लेखनाथ सर अहिले आध्यात्मबादी

२०२३ साल देखिनै बामपन्थी राजनीति तर्फ आकर्षित हुनुभयो लेखनाथ सर । उहाँ भौतिकबादी हुनुभयो । तर अहिले आध्यात्मबादले उहाँलाई आकर्षण गरेको छ । ध्यान साधना गर्नुहुन्छ । आफूलाई चिन्नुभएको छ । जीवनलाई खुसी र सुखी बनाउनुभएको छ । घिमिरे भन्नुहुन्छ “पहाडमै हुदै देखि घरमा आध्यात्मिक वातावरण थियो,२०२३मा धरानमा पढदा देखि भौतिकबादी दृष्टिकोण मन परयो । अहिले पनि मन पर्छ । त्यागेको छैन ।

न्याँय सहितको समानता भौतिकबादी दृष्टिकोण हो । भौतिकबाद र आध्यात्मबाद बिरोधी दृष्टिकोण होइन । बेदले भन्छ आगो,हावा,पानी,सूर्य देबता हो । यि चिजलाई नमान्ने को छ रु आफूलाई चिन्नु अध्यात्म हो । अध्यात्ममा लागि पछि मात्र मानव जीवनको कर्तब्य पूरा हुन्छ । ”